Logo

टोपबहादुर रायमाझी र प्रभु साह अदालत जाने तयारी गर्दै



काठमाडौं, ४ असार । पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र प्रभु साह आज निर्वाचन आयोग पुगे । उनीहरुले आयोगमा पुगेर आफूहरुमाथि कारबाही गरेको आधारका अलावा माओवादी केन्द्रको अद्यावधिक विवरणबारे जानकारी मागेका छन् ।

आयोगमा पुगेर उनीहरुले कानुनसम्मत तरिकाले माओवादी केन्द्र चलेको छ कि छैन ? माओवादी केन्द्रको आधिकारिक केन्द्रीय समिति के छ ? भनी प्रश्न गरेका थिए । जवाफमा आयोगका अधिकारीहरुले आइतबार त्यसबारे विवरणसहित जानकारी गराउने बताएका थिए ।

नेता रायमाझीले निर्वाचन आयोगमा पुगेको स्वीकारे । उनले भने,‘निर्वाचनसम्बन्धी बुझ्न पुगेका हौं ।’

प्रभु साहले आयोगसँग आफूहरुलाई कुन कुन आधारमा कारबाही गरेको हो भनी विवरण माग्न पुगेको सुनाए । उनले भने,‘नेकपाको विधान र आधिकारिक कमिटीलाई मात्र मान्यता दिनुपर्छ भनेका छौं ।’ माओवादी केन्द्रको कमिटिीलाई अनाधिकृत भन्दै त्यसलाई मान्यता दिन नहुने जिकिर समेत गरेको सुनाए ।

रायमाझी र साह कानुनी उपचारका लागि अदालत जाने तयारीका साथ निर्वाचन आयोग पुगेको बुझिएको छ । उनीहरुले माओवादीको केन्द्रीय कमिटीको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालत पुग्ने तयारी गरेका छन् । पूर्वमन्त्री प्रभु साहले अदालत जाने तयारी गरेको हो भनी सोध्दा पहिले डकुमेन्ट संकलन गरेर निर्णय लिने जवाफ दिए ।

नेकपाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी गरी ४ जना प्रत्यक्ष निर्वाचित सांसदले दल परिवर्तन गरेका थिए । माओवादीबाट निर्वाचित चारजना एमालेमा प्रवेश गरी मन्त्री भएका थिए । उनीहरुलाई दर परित्याग गरेको आधारमा माओवादीले सांसद पदबाट हटाउन सिफारिश गरेपछि संसदले पदमुक्त भएको घोषणा गरेको थियो । तर, सर्वोच्च अदालतको आदेशले उनीहरुको मन्त्री पद गुमेको थियो ।

माओवादी त्यागेका रामबहादुर थापा बादल र मणि थापाको समेत मन्त्री पद गुमेको थियो । बादल राष्ट्रिय सभाका सांसद थिए । उनलाई पनि सांसद पदबाट मुक्त गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot