Logo

कर्जा सीमाले सेयर बजार प्रभावित



काठमाडौं, साउन ३२ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले वित्तीय संस्थाबाट बढी १२ करोड रूपैयाँ कर्जा लिन पाइने व्यवस्था गरेपछिको पहिलो दिन सेयर बजार मापक परिसूचक नेप्से करिब २५ बिन्दुले घटेको छ।

बढ्दो सेयर बजारमा लगाम लगाउन अनेक प्रयास गर्दै आइरहेको केन्द्रीय बैंकको पछिल्लो निर्णयले कस्तो असर पर्ला भनेर चासो रहेका बेला आइतबार कारोबार हुँदा नेप्सेमा गिरावट आएको हो। यद्यपि कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ। यस दिन २१ अर्ब ६४ करोड रूपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

एकातिर नेप्सेको गिरावट र अर्कोतर्फ कारोबार रकम बढेपछि आगामी दिनमा सेयर बजार कुन दिशामा अघि बढ्छ भन्नेमा अन्योल देखिएको लगानीकर्ता बताउँछन्।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार केन्द्रीय बैंकले सेयर धितोमा एउटा वित्तीय संस्थाबाट चार र सबै वित्तीय संस्थाबाट १२ करोड रूपैयाँ मात्र कर्जा लिन पाउने व्यवस्था गरेपछि ठूला लगानीकर्ता निराश भएको बताउँछन्। राष्ट्र बैंकको यस्तो निर्णयले बजारलाई असर गर्ने उनको भनाइ छ।

‘यस्तो निर्णयले ठूला लगानीकर्तालाई समस्या पर्ने देखिएपछि अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण पनि गराइसकेका छौं,’ उनले भने, ‘अर्थमन्त्रीले ठूलो असर नगर्ने र सेयर बजार बिगार्न नदिने भन्नुभएको छ।’ नेपालमा सेयर बजारको भविष्य राम्रो भएको दाबी गर्दै उनले १२ करोड रूपैयाँभन्दा बढी कर्जा लिन नपाइने नीतिले संस्थागत लगानीकर्ता सबभन्दा बढी मारमा पर्ने बताए।

आइतबार नेप्से सूचक २४।८८ बिन्दुले घटेर ३१५४।०३ कायम भएको छ। यस दिन नेप्से करिब ७० बिन्दुसम्म तल झरेको थियो। दुई सय २२ कम्पनीको करिब साढे तीन करोड कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २१ अर्ब ६४ करोड ७६ लाख रूपैयाँ पुगेको छ। यस दिन नेपाल बैंकको मात्रै एक अर्ब पाँच करोड रूपैयाँ बराबरको कारोबार भएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot