Logo

ओली-प्रचण्डबीच राजनीतिक लडाईं कहाँ कहाँ फैलियो



काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राजनीतिक लडाईंले नयाँ रुप लिदै गएको छ । कुनैबेला मुठ्ठी उठाएर पार्टी एकता गरेका उनीहरुबीचको टकरावले नेकपा विभाजन भयो ।

ओली र प्रचण्डबीचको विवादले शेरबहादुर देउवालाई प्रधानमन्त्री पद आइलाग्यो । त्यसपछि ओलीविरुद्ध प्रचण्डले सत्तामा पकड कमजोर बनाउने अभियान नै चलाए । ओलीका पालामा भएका नियुक्तिहरु धमाधम खारेज गरिदिए ।

दुई नेताबीचको टकराव अदालतसम्म पुगेको । अहिले सर्वोच्च अदालतमा विकसित घटनाक्रम ओली र प्रचण्डबीचको द्वन्द्वको परिणाम हो ।

ओली र प्रचण्डबीच अब भूगोलमा राजनीतिक लडाईं केन्द्रित हुन थालेको छ । चुनाव नजिकिदै गर्दा ओली र प्रचण्ड एक अर्काका पक्षधरलाई चुनाव हराउने पूर्व तयारीमा छन् । उनीहरु दुवै एक अर्कालाई चुनाव हराउने गरी सक्रिय भइसकेका छन् ।

ओलीले नेकपा एमालेको मंसिरमा तय भएको महाधिवेशन बुटवलबाट चितवन सारेका छन् । यसले राजनीतिकवृत्तमा तरंग आएको छ । ओलीले प्रचण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नं २ स्थित ठोरीमा राम मन्दिर बनाएको विषयले निकै चर्चा कमायो । यो प्रचण्डलाई चुनौती दिने उद्देश्यका साथ चालिएको कदमका रुपमा पनि लिइयो ।

चितवनमा प्रचण्डविरुद्ध रामबहादुर थापा बादल चुनाव लड्ने पूर्वघोषणा भइसकेको छ । ओली प्रचण्डलाई नै चुनाव हराउने गरी रणनीतिक रुपमा उत्रिएका छन् । यसको काउन्टरमा प्रचण्डले पनि ओलीविरुद्ध रणनीति बनाइसकेका छन् । दुवै नेताबीचको राजनीतिक लडाईं भूगोलसम्म फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot