Logo

एमसीसीविरुद्ध जाने ७ सांसदबारे प्रचण्डले के गर्लान् ?



काठमाडौं, १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आफूले चाहेको हुने सन्देश दिइसकेका छन् । उनले १६ फागुनमा पत्रकार सम्मेलन गर्दै कार्यकर्ता आफ्नै साथमा रहेको जिकिर गरे ।

नारायणकाजी श्रेष्ठको नामै तोकेर एमसीसीको विरोध गर्दा जनता र कार्यकर्ता ह्वात्तै आउँछन् भन्ने भ्रम नपाल्न भने । पार्टी निर्णय विपरित बाहिर नबोल्ने भन्दा भन्दै उल्लंघन गरेको बताए । उनले पार्टी निर्णयविरुद्ध जानेप्रति समेत संकेत गर्दै कडा सन्देश दिए ।

एमसीसीमा माओवादीका ६ सांसदले ह्वीप नै उल्लंघन गरे । जसमध्ये प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेल र अञ्जना विशंखे छन् ।

उनीहरुले हुन्न भन्ने पक्षमा मत प्रकट गरेका थिए । पूर्वसभामुख कृष्णबहादुर महराका अलावा सांसदहरु रेखा शर्मा, जयपुरी घर्ती र यशोदा सुवेदीले बैठक नै बहिष्कार गरे ।

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ खुलेरै एमसीसी अनुमोदनको विपक्षमा उभिएका छन् । यसले माओवादीभित्र टकराव बढेको छ । पूर्व एकताकेन्द्रका नेताहरु एमसीसीको विरोधमा छन् । उनीहरुलाई पार्टी छाडे पनि केही नहुने भन्दै प्रचण्ड पक्षधर नेताहरुले बोल्न थालेका छन् ।

प्रचण्डनिकट नेता शक्ति बस्नेतले सिधै पार्टी छाड्न कोही पनि स्वतन्त्र भएको बताइसके । प्रचण्डले पनि आफ्नो बाटो लाग्न पाइने बताएका छन् ।

प्रचण्ड एमसीसीको विरोधमा लाग्ने आफ्नै दलका नेताहरुप्रति कडा बन्दै गएका छन् । २० फागुनमा माओवादी केन्द्रीय समिति बैठक डाकिएकोमा एमसीसीबारे सदनमा निर्णय लिदा ह्वीप उल्लंघन गर्नेलाई कस्तो कारबाही हुन्छ ? चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot