Logo

आचारसंहितामा निर्वाचन आयोगले सिन्को भाँच्न सक्दैन, रमिते भएर हेर्ने मात्र होः चित्रबहादुर केसी



काठमाडौं, २६ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टी स्थानीय तहमा गठबन्धनको पक्षमा रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “आवश्यक परेको ठाउँमा तालमेल गर्ने हाम्रो पार्टीको नीति छ । तर सबै ठाउँमा सबैको तालमेल नहुन पनि सक्छ । गठबन्धन दलहरुले राजमोलाई महानगर दिन्न भन्न पाइन्छ, नदिन पनि पाइन्छ, तर दिनु पनि पर्छ । सहमति भएका कुरामा मिलेर लड्ने हो, नभए मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने हो ।
सरकारले गभर्नरलाई लहडमा हटाउन नमिल्ने उनले तर्क गरे । केसीले थपे, “हामी सरकारको चलाउने राम्रो कामको समर्थन गर्छौं, नराम्रो कामको विरोध गर्छौं । राष्ट्र बैंकको गभर्नरलाई अर्थमन्त्रीले हटाउन मिल्दैन । यसमा क्याबिनेट जिम्मेवार हुन्छ । सरकारले लहडमा यस्ता काम गर्नुहुँदैन । अर्थतन्त्र ध्वस्त हुनुमा गभर्नर मात्र जिम्मेवार होइनन् ।”
उनले राजदूत नियुक्ति समानुपातिक र समावेशी नभएको आरोप पनि लगाए । केसीले भने, “हामी सरकार चलाउने संयन्त्रमा छैनौं । राजदूतमा चार दलले भागबन्डा गरे । यो समानुपातिक र समावेशी छैन । न्यायपूर्ण छैन । राजदूत नियुक्तिमा भेदभाव भएको छ ।”
आचारसंहिता पालनामा निर्वाचन आयोगले सिन्को भाँच्न नसक्ने पनि केसीले दाबी गरे । उनले भने, “निर्वाचन आयोग निरीह छ । खालि रमिते भएर हेर्छ । ठूला पार्टीले कसरी मत खरिद गर्छन् ? आचारसंहिता देखाउने दाँत मात्र हुनुहुँदैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot