Logo

कांग्रेसमा पार्टीको संस्थापनलाई जसरी पनि असफल पार्न खोज्ने धार रहेछ, त्यसैले बागी उम्मेदवारको बिगबिगी छः झलनाथ खनाल



काठमाडौं, १३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनमा सहमति हुन नसकेका स्थानमा थप प्रयत्न हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “हामीले गठबन्धनमा एक महिनाअघि नै सहमति बनाएर अगाडि बढ्नुपथ्र्यो । अन्तिम अवस्थामा सहमति गर्न खोज्दा असन्तुष्टि बढेका छन् । त्यसलाई एकआपसमा बसेर समाधान गर्नुपर्ने अवस्था छ । मैले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा गरेको थिएँ । जहाँ जहाँ मिलेको छैन, त्यहाँ दुई-तीन दिनभित्र आवश्यक निर्देशन दिने कुरा भएको छ । गठबन्धन संविधान र लोकतन्त्रको रक्षा र मुलुकलाई अग्रगतितर्फ अघि बढाउने प्रयत्न भएकाले नमिलेका ठाउँमा मिलाउँदै जानुको विकल्प छैन ।”
कांग्रेसका बागी उम्मदेवारलाई वैशाख १६ सम्म फिर्ता लिने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । खनालले थपे, “नेपाली कांग्रेसमा भरतपुर, पोखरा आदि ठाउँमा समस्या देखिएका छन् । सुरु सुरुमा असन्तुष्टि देखाउनु स्वाभाविकै हो । पार्टीबाट विद्रोह गरेर अलग भए मेरो भन्नु केही छैन । विद्रोह गरेर जाने अधिकार सबैलाई छ । नत्र नेता कार्यकर्ताले पार्टीको निर्णय मान्नैपर्छ ।”
कांग्रेसमा पार्टीको संस्थापनलाई असफल पार्न खोज्ने धारका कारण पनि समस्या सिर्जना भएको उनले आरोप लगाए । उनले भने, “३० जिल्लामा राम्ररी तालमेल भएको छ । कतिपयमा आंशिक मात्र छ । अहिलेको लडाइँ परिवर्तनकारी र दक्षिणपन्थीबीच हो । तर कांग्रेसमा बागी उम्मेदवारको बिगबिगी छ । यसले जटिलता हुन्छ । नेपाली कांग्रेसमा संस्थापनलाई असफल पार्न प्रयत्न गर्ने एउटा धार रहेछ । त्यो उसको आन्तरिक समस्या हो । उहाँहरुले मिलाउनु होला । पार्टीबाहिर गएर अघि बढ्न सकिँदैन भन्ने बागीले थाहा पाउनुपर्छ ।”
गठबन्धनका लागि अन्तिम समयमा निर्णय गर्नु उचित नभएको पनि उनले स्वीकारे । खनालले भने, “हामीले एक महिना अगावै निर्णय गर्न सकेको भए राम्रो हुन्थ्यो । साझा चिह्न र संयुक्त घोषणापत्र बनाएर जान सकेको भए अझ राम्रो हुन्थ्यो । यसबारे पार्टी नेतृत्वहरुले सोचेको पाइनँ । अब त्यो अवस्थाबाट अघि बढ्नुपर्ने अवस्था हुन्छ ।”
काठमाडौं महानगरपालिकामा एमालेको नेतृत्वले राम्रो काम गर्न नसकेकाले विकल्पमा गठबन्धनको टिम तयार भएको पनि खनालले औंल्याए । उनले भने, “विगतमा एमाले नेतृत्वले जुन ढंगले विकास निर्माणका काम गर्न सक्नुपथ्र्यो, त्यो हुन सकेन । त्यसको जनताले मूल्यांकन गरेका छन् । सिर्जना सिंह र रामेश्वर श्रेष्ठको टिमले माहोल सिर्जना गरेको छ । अब सहज विजय गर्छ । र, महानगरको विकास प्रक्रियामा कायाकल्प हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot