Logo

कांग्रेस सर्लाहीका नेताहरु मिडियामा, क्षेत्रले गरेको उम्मेदवार सिफारिशलाई जिल्ला समितिले उल्टाइदिएको आरोप



काठमाडौं, ४ असोज । नेपाली कांग्रेस सर्लाहीको क्षेत्रले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारीलाई जिल्ला समितिले उल्टाइदिएको भन्दै नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् । आज (मंगलवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला कार्य समितिमा रहेका नेता तथा कार्यकर्ताहरुले पार्टीको विधानविपरित कार्य गरेको भन्दै असन्तुष्टि पोखेका हुन् । उम्मेदवार सिफारिशमै विधानविपरित गतिविधि भएको भन्दै निर्वाचनमा पार्टीले व्यहोर्ने क्षतिको जिम्मा नेतृत्व स्वयमले लिनुपर्ने उनीहरुको चेतावनी छ ।

पार्टीका महाधिवेशन प्रतिनिधि प्रमोद बरालले विधि र विधानलाई उल्लंघन गरेर जिल्ला कार्य समितिले केन्द्रमा उम्मेदवारको नाम पठाएको भन्दै असन्तुष्टि पोखे । जिल्ला समितिले क्षेत्रिय समिति र प्रदेश समितिले प्रस्ताव गरेको नाम हटाएर आफन्त, जुनियरहरुलाई विपिको सिद्धान्त मिचेर सिफारिस गरेको उनले आरोप लगाए ।

उनले भने,“प्रदेशको लागि प्रदेशले प्रस्ताव गरेको व्यक्ति ३ जना र संघको क्षेत्रिय कार्यसमितिले प्रस्ताव गरेको तीन जनालाई जिल्ला कार्यसमितिमा पठाउने, जिल्ला कार्यसमितिले प्रस्ताव जस्ताको त्यस्तै राखेर सुझावसहित प्रदेशमा पठाउने र प्रदेशले पनि जिल्लाको प्रस्तावलाई जस्ताको त्यस्तै राखेर सुझावसहित केन्द्रमा पठाउने र केन्द्रको संसदीय बोर्डले अन्तिम निर्णय गर्ने कांग्रेसको विधानमा उल्लेख छ ।” प्रदेश कमिटिले पनि अनुमोदन गरेर पठाएको नाम नभई अन्यको नाम राखेकोमा आफुहरुको घोर आपक्ति रहेको उनको भनाई थियो ।

यसैगरी, अर्का महाधिवेशन प्रतिनिधि तथा युवा नेता शिव गुर्माछानेले धेरै पार्टीमा खेमाको बारेमा विषय उठान हुँदै आएको भन्दै उनले आफुहरु विशुद्ध एकता, आगामी चुनावमा पार्टीलाई जिताउने र सफल गराउनको लागि विधि र विधानअनुरुप गतिविधि हुनुपर्नेमा जोड दिएको सुनाए ।

भदौ ५ गतेको केन्द्रले पठाएको निर्देशनको आधारमा क्षेत्रले गरेको निर्णयको आधारमा सिफारिस गरेर जिल्लामा नाम पठाएको भएपनि नाम उल्टाईएको भन्दै उनले आपक्ति जनाए । उनले भने,“जिल्लाले सिफारिसको आधारभन्दा बाहिर गएर व्यक्ति विशेषलाई हेरेर सिफारिस गरियो, त्यसमा हाम्रो आपत्ति छ”

उनले पार्टी र गठबन्धनको निर्णयलाई सहर्ष स्विकार गरेर सिफारिस पठाएको उनले बताए । तर, क्षेत्र र प्रदेशले गरेको सिफारिसभन्दा बाहिरका व्यक्तिको नाम सिफारिस गर्दा शंका गर्ने आधार प्रशस्तै हुने उनको भनाइ थियो ।

अर्का महाधिवेशन प्रतिनिधि अनिता यादवले कांग्रेसमा पछिल्लो समय परिवारवाद र पैसावाद हावी भएको आरोप लगाईन् । पछिल्लो समय यसको प्रमाण छतााछुल्ल भइसकेको उनको भनाइ थियो । उनले पार्टीबाट राम्रा र इमान्दार व्यक्तिहरुलाई निरूत्साहित गर्ने काम भइरहेको आरोप लगाइन् ।

सर्लाही प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लुङ्गेलीले केन्द्रले दिएको कार्यविधिअनुसार उम्मेदवार सिफारिस गरेर पठाएपनि त्यसको उल्टो विधानविपरित काम भएको भन्दै आपक्ति जनाए ।  क्षेत्रको निर्णयानुसार नाम सिफारिस गर्नुपर्नेमा जोड दिँदै उनले त्यसबाट चुनावी परिणाममा पर्ने असरबारे नेताहरुले जिम्मेवारी लिनुपर्ने बताए ।

सर्लाही प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति कौशलकिशोर रायले नेतृत्वले गलत गरेमा त्यसको विरोध गर्नुपर्ने भन्दै विरोध नगर्ने कार्यकर्तालाई अवसरवादी र कायरको संज्ञा दिए ।

कांग्रेसको विधानको आधारमा क्षेत्रले गरेको सिफारिसमा जिल्ला कार्यसमितिले अर्कै नाम पठाएकोमा उनले घोर आपक्ति जनाए । उनले विधानविपरित गरिएका कार्यले पार्टीमा विचलन ल्याउने, पुराना र काम गरेका इमानदार नेता तथा कार्यकर्तालाई विस्थापित गराउने टिप्पणी गरे । उनले पनि आफुहरुले पठाएको नाम जसरी पनि केन्द्रले अनुमोदन गर्नुपर्ने धारणा राखे ।

पुर्व सांसद हरेशकुमार महतोले कांग्रेस क्षेत्र नम्बर ३ प्रदेश कार्यसमितिले उम्मेदवारको नाम सर्वसम्मत् जिल्लामा पेस गरेको जानकारी दिए । कार्यसमितिले पठाएको माइन्युटलाई लुकाएर जिल्ला सभापतिले नामहरु क्रमसंख्या मिचेर राखेको दाबी गरे । यस्ता कार्यले पार्टीलाई नोक्सान हुने उनको भनाइ थियो ।

यस्तो क्षेत्र र प्रदेश कार्यसमितिको निर्णयलाई उल्टाएर सिफारिस गरिएको पहिलो घट्ना भएको उनले सुनाए । उनले जिल्ला कार्य सभापतिलाई कारबाही गर्न माग गरे । उनले भने,“क्षेत्र र जिल्ला कार्यसमितिको माइन्युटलाई नमानेर सभापतिले आफ्नो मनखुशी गर्न पाइदैन् ।”

सर्लाहीका पुर्व पार्टी सभापति लक्ष्मण रायले पार्टीको विधानविपरित जिल्ला सभापतिले गरेको कार्यको भण्डारफोर गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।
विपिको सिद्धान्तअनुसार क्षेत्र र प्रदेशको निर्णयलाई बांगोटिंगो बनाएर आफ्नो मोनोपोली गरेको सत्य कुरा बाहिर ल्याएर पार्टीलाई सचेत गराउन खोजेको स्पष्ट पारे ।

जिल्ला कार्यसमिति सर्लाहीका सचिव मनोजकुमार यादवले सर्लाहीमा कांग्रेस बलियो बनाउन योगदान दिनेहरुको जमातमाथि अन्याय भएको बताए । सर्लाही कांग्रेस सभापति सुरेन्द्र प्रसाद सिंहले क्षेत्रबाट सिफारिश गरेर पठाएको डा. अमरेश कुमार सिंहको नाम काटेपछि त्यहाँ विवाद चुलिएको थियो । अमरेशको क्षेत्रमा पार्टीका महामन्त्री गगनकुमार थापाको नाम सर्वसम्मत् रुपमा सिफारिश भएको जनाईएको थियो ।



प्रतिक्रिया दिनुहोस्