Logo

छलफलमा व्यस्त कांग्रेस नेता



काठमाडौं, असोज २३ । नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार टुंगो लगाउने भएको छ। कांग्रेसले शनिबार साँझ ५ बजेसम्म यातायातका दृष्टिकोणले दुर्गम रहेका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारलाई टिकट दिएर पठाएको छ। कांग्रेसले प्रतिनिधिसभातर्फ चार दर्जन निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाए पनि प्रदेशसभातर्फ भने निर्णय गर्न सकेको छैन।

पार्टीका शीर्ष नेताहरू शनिबार लोसपासँगको छलफलमा केन्द्रित भएकाले उम्मेदवार टुंगो लगाउन ढिला भइरहेको एक नेताले बताए। ती नेताका अनुसार पार्टीभित्रको गुटगत सन्तुलन मिलाउँदा अन्तिम समयमा पनि नाम हेरफेर हुन सक्छ। ‘संघको उम्मेदवार बन्ने पक्का भएका पदाधिकारीलाई पनि प्रदेशमा जानुपर्ने अवस्था आउलाजस्तो छ,’ बैठकमा सहभागी पदाधिकारी स्तरका ती नेताले भने, ‘त्यसैले उम्मेदवार छनोटमा केही समस्या देखिएको छ।’

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनतर्फ पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका केही नेतालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले शुक्रबार मध्यराति टुंगो लगाएको थियो। देउवाले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै प्रतिनिधिसभातर्फ दार्चुलाबाट दिलेन्द्रप्रसाद बडु, बाजुराबाट सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, अछाम–२ बाट पुष्प शाह, मुगुबाट ऐनबहादुर शाही, मनाङबाट टेकप्रसाद गुरुङ र तेह्रथुमबाट सीता गुरुङले चुनाव लड्नेछन्। ओखलढुंगाबाट रामहरि खतिवडा, सोलुखुम्बुबाट बलबहादुर केसी, संखुवासभाबाट दीपक खड्का उम्मेदवार बन्नेछन्। सोलुखुम्बु माओवादीको कोटामा परे पनि केसीका लागि प्रतिनिधिसभा छाड्न माओवादी तयार भएको बताइएको छ।

प्रतिनिधिसभा सदस्यका लागि पाँचधरबाट सहमहामन्त्री भीष्मराज आङदेम्बे, झापा १ बाट महामन्त्री विश्वप्रकाश शर्मा, झापा–३ बाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मोरङ–६ बाट शेखर कोइराला, सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की, उदयपुर–१ बाट नारायण खड्का, धनकुटाबाट सुनील थापा, बारा–१ बाट सहमहामन्त्री उमाकान्त चौधरी, सिरहा–१ बाट चित्रलेखा यादव, धनुषा–४ बाट सहमहामन्त्री महेन्द्र यादवलाई कांग्रेसले मैदानमा उतार्नेछ।

त्यस्तै प्रतिनिनिधिसभा सदस्इका लागि काठमाडौं–१ बाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, काठमाडौं–४ बाट महामन्त्री गगन थापा, काठमाडौं–६ बाट भीमसेनदास प्रधान, काठमाडौं–१० बाट राजेन्द्र केसी, ललितपुर–१ बाट उदयशमशेर राणा, भक्तपुर–२ बाट दुर्लभ थापा, रसुवाबाट मोहन आचार्य, सिन्धुपाल्चोकबाट मोहनबहादुर बस्नेत, मकवानपुर–१ बाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार बन्ने भएका छन्। गोरखा–१ मा राजेन्द्र बजगाईंलाई टिकट दिने टुंगो लागे पनि त्यहाँका अरू नेताले स्वीकार गरेका छैनन्। कांग्रेसले प्रतिनिधिसभातर्फ तनहुँ–१ बाट रामचन्द्र पौडेल, नवलपुर–१ बाट पूर्वमहामन्त्री शशांक कोइराला, स्याङ्जा–१ बाट राजु थापा, स्याङजा–२ बाट उपसभापति धनराज गुरुङ, अर्घाखाँचीबाट पुष्पा भुसाल, रूपन्देही–३ बाट बालकृष्ण खाँण, दाङ–३ बाट दिपक गिरी, सुर्खेत–१ बाट पूर्णबहादुर खड्का, सुर्खेत–२ बाट हृदयराम थानी, कञ्चनपुर–२ बाट एनपी साउद, कञ्चनपुर–३ बाट रमेश लेखक, कैलाली–१ बाट रामजनम चौधरी, कैलाली–४ बाट वीरबहादुर बलायरलाई उम्मेदवार बनाउने भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot