Logo

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः बेनीमा तेक्वान्दो शुरु



म्याग्दी, असोज २९ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका छ र गेरोगीका १६ गरी २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिए । स्वर्ण र कास्य २२र२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४६ देखि ७२ र पुरुषतर्फ ५४ देखि ८७ केजी तौल समूहका खेलाडी सहभागि छन् ।

शुक्रबार साँझ भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषतर्फ नेपाल पुलिस क्लवले जितेको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले बताए । महिलातर्फ ७.१९९ अंक सहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुँदा उपविजेता भएकी नेपाली सेनाकी स्वतिका तामाङले ७.१४९ अंक जोडेकी थिइन् । तेस्रो स्थान प्राप्त गर्न सफल प्रदेश १ की शुशिला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अंक पाइन् ।

पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७।५३३ अंकसहित विजयी हुँदा लुम्बीनीका युवराज रानाले ७.१४९ अंक सहित उपबिजेता बने । त्यस्तै ६.८६६ अंक सहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंक सहित प्रदेश १ का विवेक राई तेस्रो भए । पुम्से र गिरोगीतर्फका बाँकी खेल आज सञ्चालन हुने राखेपका प्रमुख प्रशिक्षक श्रेष्ठले बताउनुभयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot