Logo

भलिबलमा लिग चरणका खेल जारी



कास्की, असोज ३० । अन्नपूर्ण– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलतर्फ लिग चरणका खेल भइरहेका छन् । पुरुष भलिबल पोखरा रङ्गशालामा र महिला भलिबल म्याग्दीमा चलिरहेको छ । पोखरा रङ्गशाला भलिबल कोर्टमा समूह चरणको खेलमा एपिएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । पहिलो खेलमा एपिएफले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई ३–० को सोझो सेटमा हरायो । एनआरएनएलाई एपिएफले २५–१९, २५–१५ र २५–१३ सेटमा हराएको हो । जितसँगै एपिएफले तीन अङ्क जोड्यो ।

दोस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश नं १ लाई ३–० कै सेटमा पराजित ग¥यो । आर्मीले २५–१२, २५–१९ र २५–२३ ले प्रदेश नं १ लाई हराएर समूह ‘बी’ मा पहिलो जित दर्ता गर्दै तीन अङ्क जोड्यो । तेस्रो खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई हराउँदै शीर्षस्थान कायम राखेको छ । शनिबार लुम्बिनीलाई २५–१२, २५–८ र २५–२१ को सेटमा पराजित गर्दै पुलिसले थप तीन अङ्क जोडेको हो ।

आइतबारको पहिलो खेल त्रिभुवन आर्मी र मधेस प्रदेश, दोस्रो खेल एपिएफ र सुदूरपश्चिम, तेस्रो खेल कर्णाली र लुम्बिनी प्रदेशबीच हुने छ । पुरुष भलिबलमा सहभागी ११ टिमलाई चार समूहमा राखेर खेलाइएको छ । हरेक समूहका विजेता र उपविजेता टिम क्वाटरफाइनल चरणमा प्रवेश गर्नेछन् ।

समूह ‘डी’ मा गण्डकी र बागमतीमात्रै रहेकाले सिधैँ क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । शुक्रबार बागमतीलाई हराएर गण्डकी समूह विजेता बनेको थियो । यस्तै म्याग्दी खुलामञ्च खेलमैदानमा भएको महिलातर्फको खेलमा विभागीय टिम त्रिभुवन आर्मी र प्रदेश नं १ ले जित निकालेका छन् । बेनीको खुलामञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश नं १ ले मधेस प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।

मनिषा खाणको कप्तानीमा मैदानमा उत्रिएको आर्मीको टोलीले कर्णालीलाई २५–१२, २५–१३ र २५–१२ सोझो सेटमा पराजित गरेको हो । यस्तै विनिता राईको नेतृत्वमा खेलेको प्रदेश नं १ ले मधेसलाई सोझो सेटमा पराजित गरेको हो । मधेसलाई हराउने क्रममा प्रदेश नं १ ले २५–१३, २५–२२ र २५–१५ नतिजा निकालेको हो । लिक कम नक आउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको प्रतियोगितामा छवटा खेल सकिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीले सहभागिता जनाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot