Logo

देउवासँग आक्रामक ओली, देउवाले देशमा आतंक मच्चाएको आरोप



दैलेख, २७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भएपनि एउटा पनि राम्रो काम नगरेको बताएका छन् । ओलीले दैलेखमा आज (सोमबार) आयोजित चुनावी सभामा गठबन्धनमा रहेका दलका नेताहरूलाई एउटामात्र राम्रो काम गरेको भए बताउन चुनौती दिए ।

उनले एमालेले गरेका कम्तीमा १०० वटा उपलब्धि भन्नसक्ने बताउँदै देउवा गृहमन्त्री हुँदा एमालेका ३० हजार कार्यकर्तालाई सार्वजनिक मुद्दा लगाएको, देशमा आतङ्क मच्चाएको स्मरण गराए । उनले भने, ‘सङ्घर्ष, आन्दोलन गरेर पञ्चायत ढालिसकेपछि, बहुदलीय व्यवस्था आएपछि पनि काँग्रेसको सरकार हुँदा म कम्तीमा ५० पल्ट गिरफ्तार भएको छु ।’

उनले २०५९ साल असोज १८ र माघ १९ को प्रतिगमन देउवा प्रधानमन्त्री हुँदा भएको र आन्दोलन गरेर लोकतन्त्र फिर्ता ल्याइएको स्मरण गर्दै देउवाले पाँचपटक प्रधानमन्त्री हुँदा गरेको काम त्यही हो भने ।

उनले प्रधानमन्त्री नियुक्तिका लागि सेटिङमा अदालतबाट परमादेश जारी गराउनेहरूले नै संविधान मिचाउने काम गरेको आरोप लगाए । दैलेखको चुनावी भाषणमा देउवाप्रति आक्रामक देखिएका ओलीले गठबन्धनको अर्को मुख्य घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डबारे भने नरम देखिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot