Logo

दुर्गा प्रसाईको कटाक्ष– राजनीतिमा राँगो ब्याएर रविजी उदाउनुभएको हो क्या !



काठमाडौं, २३ पुस । नेकपा एमालेका नेता एवं व्यवसायी दुर्गा प्रसाईंले आफ्नो पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु आजको आवश्यकता सम्झिएको बताएका छन् ।

‘यसपटक प्रचण्डलाई कसै न कसैले प्रधानमन्त्री बनाउनैपर्थ्यो । उहाँको जम्मा लक्ष्य नै प्रधानमन्त्रीमा थियो । कांग्रेसका कारण पनि प्रधानमन्त्री उहाँ नै हुन सक्नुहुन्थ्यो, एमालेका कारण पनि उहाँ नै प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले देशलाई निकास दिऊँ भनेर सोच्नुभयो र प्रचण्डलाई बनाइदिनुभयो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले भने ।

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर राजनीतिक चतुर्‍याइँ र बुद्धिमत्ता देखाएको दाबी पनि उनले गरे । प्रसाईले थपे, ‘राजनीतिमा सधैं झगडा हुन्छ भन्ने होइन । यसपटक ओलीजीले राजनीतिक चतुर्‍याइँ र बुद्धिमत्ता देखाउनुभयो । राजा हुनेभन्दा पनि बनाउने ठूलो हुन्छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभयो, अब राष्ट्रपति पनि बनाउनुहुन्छ, सभामुख पनि बनाउनुहुन्छ ।’

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने स्टन्टबाजीमा सीमित रहेको टिप्पणी पनि प्रसाईले गरे । उनले भने, ‘रवि लामिछाने टिभीमा स्टन्ट गरेर आउनुभयो । जनताले जे सोचेर संसदमा पठाएका थिए, त्यो गर्नु भएन । म रवि भएको भए मन्त्री खान जान्नथें । प्रतिपक्षमा बसेर जनताको सशक्त आवाज उठाउँथें ।’

लामिछाने हास्यपात्र भएको पनि उनले बताए । प्रसाईले भने, ‘उहाँले नेताहरुका घरमा रहेका सुरक्षाकर्मी फिर्ता गराउनुभयो, प्रधानमन्त्रीले दबाब दिएर फेरि पठाउनुभयो । उहाँले मभन्दा माथि प्रधानमन्त्री छ भन्ने नै बिर्सनुभयो र हास्यपात्र बन्नुभएको छ । पुलिस प्रशासन कसैले पत्याएको छैन । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल टेम्पुमा हिँडेका छन्, रविजी शनिबार आफ्नो गाडी चढेको स्टन्ट गर्नुहुन्छ । यो सबै देखाउने कुरा हो । जसरी आयो, त्यसरी जान्छ । रविजी राजनीतिमा राँगो ब्याएर आउनुभएको हो क्या ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot