Logo

म रवि लामिछाने भए कुनै पनि सार्वजनिक पद धारण गर्दिनथेंः देव गुरुङ (भिडिओसहित)



काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा स्वागत गरिने बताएका छन् ।

‘हामीले सात दललाई त सरकारमा ल्याएका छौं भने नेकपा (एकीकृत समाजवादी) लाई नल्याउने कुरै छैन । केपी शर्मा ओलीले पनि उहाँलाई हिजोको आँखाले हेर्नुहुन्न भन्ने लाग्छ । हामी माधव नेपालजीमा हामी लचकता देखिरहेका छौं । मलाई लाग्छ, उहाँले सरकारलाई समर्थन गरेर विश्वासको मत दिनुहुन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने ।

पार्टी एकता पनि एकीकृत समाजवादीमै निर्भर रहने गुरुङले बताए । उनले थपे, ‘यसमा हाम्रो कुनै क्लज छैन । सबै कुरा एकीकृत समाजवादीमै निर्भर हुन्छ ।’ राजकीय पदहरु शीर्ष नेताहरु बसेर भागबन्डा गर्ने पनि उनले बताए । उनले भने, ‘राष्ट्रपति-उपराष्ट्रपति चयनका लागि अझै समय छ । त्यसमा समस्या हुन्छ भन्ने लाग्दैन । मन्त्रालय बाँडफाँट पनि अड्किँदैन ।’ मन्त्रिपरिषद्को मर्यादाक्रम परम्परागत मान्यता ‘फलो’ गर्ने क्रममा तलमाथि परेकाले केही प्रश्न उठेको उनले औंल्याए ।

आफू रवि लामिछाने भए सार्वजनिक पद धारण नगर्ने पनि गुरुङले बताए । उनले थपे, ‘अदालतको आफ्नो प्रक्रिया हुन्छ । उसले आफ्नो ढंगले काम गर्छ । तर राजनीतिमा नैतिकता ठूलो पुँजी हो । म रवि लामिछाने भए कुनै पनि सार्वजनिक पद धारण गर्दिनथें ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot