Logo

जनतासँग जोडिएको मन्त्रालय मेरो चाहना हो– सुदन किँराती (भिडियोसहित)



काठमाडौं, २५ पुष । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं संघीय सांसद सुदन किँरातीले पदका लागि पार्टी नेतृत्वलाई धम्क्यानु र घुक्र्याउनु अहिलेको कल्चर बनेको बताएका छन् ।

हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै आफू जनताबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएर आउँदा पनि अहिलेसम्म मन्त्रीको लागि नेतृत्वलाई दवाब नदिएको बताएका हुन् ।

साथै आफूलाई नेतृत्वले मन्त्री बनाउँदै गर्दा जनमनमा बसेको मन्त्रालय आफ्नो रोजाइ भएको उनले बताए । ‘जनताको घरदैलोमा जाने र जनतासँग जोडिएको मन्त्रालय पाउन पाए हुन्थ्यो भन्ने मेरो इच्छा हो । धेरै मान्छे फूलप्रति आकर्षित हुन्छन् । त्यहाँ सुन्दरता र सुगन्ध पनि हुन्छ । म चाहिँ सधैं जरामा ध्यान दिने मान्छे । जरा भनेको नै जनता हो,’ उनले भने ।

साथै, अहिले सरकारको नेतृत्वमा जानेहरुले टोपी लगाएर पनि श्रीपेच लगाउनेको जस्तो रवाफ देखाइरहेको उनले बताए । नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने उनले बताए । भ्रष्टाचार निवारण, सुशासन कायम, राष्ट्रियतालाई प्रधान राखी उत्पादनमा जोड दिएर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न सके राम्रो हुने उनको दाबी छ । कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएमा राष्ट्रिय सहमतिको सरकारका लागि ढोका खुल्ने पनि उनले बताए ।

अहिले प्रचण्ड नेतृत्वको सरकारमा सगमाथा जस्ता चुनौति र अवसर पनि रहेको उनले बताए । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको सम्भावना कायमै रहेको उनको दाबी छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने कोही नहुने बताउँदै उनले कम्युनिष्ट मिल्नुको विकल्प नरहेकोले विचार मिल्नेसँग एकताको ढोका खुल्ला रहने उनले बताए ।

साथै, जनताको म्याण्डेटका आधारमा पृथ्वी जयन्तीमा विदा दिएको पनि उनको दाबी छ। हामीले चाहेको जनवादी राज्य थियो । जनतासँग हामीले जनादेश माग्यो । जनताको म्याण्डेट नै यस्तै छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot