Logo

सभामुखको निर्वाचन आज



काठमाडौं, माघ ५ । संघीय संसद्को सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद्को सभामुखका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा (एमाले )का देवराज घिमिरे र विपक्षी दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने बीच प्रतिस्पर्धा हुँदैछ ।

सभामुख निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका स्थायी समिति सदस्य तथा झापा क्षेत्रनम्बर २ वटा निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।

घिमिरेको प्रस्तावकमा एमालेका नेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट सभामुखमा उम्मेदवारी दिएकी न्यौपानेको समर्थकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तावक र समर्थकमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला समर्थक रहेका छन् ।

यसअघि सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीले भने सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई समर्थन नगर्ने संकेत गरेको छ ।

सरकारमा सामेल हुन राखेको सर्त पूरा नगरेको भन्दै जसपाले सरकारमा जान अस्वीकार गरेको छ । दुईवटा मन्त्रालय र उपराष्ट्रपति तथा उपसभामुख खोजेको जसपालाई सत्ता गठबन्धनका अन्य दलले बेवास्ता गरेपछि सरकारमा नजाने निर्णय गरेको हो ।

जसपाले नेपाली कांग्रेसको तर्फबाट सभामुखमा उम्मेदवारी दिएकी ईश्वरी न्यौपानेलाई समर्थन गर्ने संकेत देखिएको छ । सो पार्टीले सभामुखको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा आज निर्णय गर्ने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

यस विषयमा सो दलका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । तर, सो पार्टीले सभामुख निर्वाचनमा कुन उम्मेदवारलाई सघाउने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन ।

सरकारमा सामेल अर्को दल जनमत पार्टीले भने सत्तारुढ दलका उम्मेदवारलाई समर्थन गर्ने संकेत गरेको छ । सो पार्टीबाट मन्त्री भएका बिनाविभागीयमन्त्री अब्दुल खानले आफूले भनेको मन्त्रालय नपाएको भन्दै मन्त्रालयमा हाजिर गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot