Logo

महाशिवरात्रीको अवसरमा शान्ति पदयात्रा गर्ने ॐकार शक्ति नेपालको घोषणा (भिडिओसहित)



काठमाडौं, ३ फागुन । ॐकार शक्ति नेपालले महाशिवरात्रीको अवसरमा शान्ति पदयात्रा गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी ॐकार शक्ति नेपालले आगामी फागुन ८ गते शिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्रा कार्यक्रम तय गरिएको जानकारी गराएको हो ।

सनातन धर्मका विषयमा विभिन्न प्रकारका शंका÷उपशंका पैदा भएले त्यसको निराकरणका लागि त्रिशुलसहितको धार्मिक पदयात्रा तय गरिएको आयोजक संस्थाले जनाएको छ ।

‘धर्मो रक्षति, रक्षितः’ को मूल मर्मलाई आत्मसात् गर्दै धर्मको रक्षाबिना कसैको पनि संरक्षण र सुरक्षा सम्भव छैन भन्ने सोच र भावनाको विकास गर्दै सबैलाई यसप्रति अभिप्रेरित गराउने पवित्र उद्देश्यको साथ आगामी २०७९ सालको पावन पर्व शिवरात्रीको अवसरमा पहिलोपटक ऐतिहासिक रुपमै १००८ त्रिशुलसहितको शान्ति पदयात्रा–२०७९ यही फागुन ८ गते गर्न लागिएको हो । जसले समस्त् सनातन धर्मालम्बीहरुलाई ॐ को सास्वत शक्तिभित्र एकशुत्रमा बाँधेर धर्म र राष्ट्रको संरक्षण तथा विकासमा अभिप्रेरित हुन प्रेरित गर्नेछ । यो शान्तिपूर्ण पदयात्रा शान्ति क्षेत्र नेपाल निर्णयार्थ कोशेढुंगाको रुपमा सावित हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै धर्मगुरु व्यास आचार्य किशोरकुमार गौतमले शिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्राले भगवान पशुपतिनाथलाई परिक्रमा गर्ने बताए । देशको शान्ति, सुरक्षा र सुखको लागि आफूहरुले भगवान पशुपतिनाथलाई त्रिशुल पदयात्राले परिक्रमा गर्न लागेको उनको दाबी छ ।

‘हाम्रो पहिचान खोज्ने हो भने हाम्रो धर्म, संस्कार, संस्कृति र नेपाली कूल परम्परालाई जोगाउनुपर्छ । आज देश हाम्रा अग्रज नेताले कता लगिरहेको छन् ? हामी कहाँ पुग्दैछौं ? अब हामीले धार्मिक कार्यक्रमलाई विशेष प्राथमिकता दिन आवश्यक छ,’ उनले भने ।

विश्व हिन्दु युवासंघका राष्ट्रिय अध्यक्ष ऋषिकेशजंग शाहले यसपटकको शिवरात्री शप्ताहव्यापी रुपमा मनाउने तयारी रहेको जानकारी गराए । ‘नेपाललाई विश्व गुरु राष्ट्रको भूमिकामा स्थापित गराउने अभियान आजबाट सुरु भएको छ । यो कसैको पनि विपक्षमा छैन । यहाँभित्र रहेको कांग्रेस, एमाले, माओवादी, राप्रपा अन्य कुनै दल यो कसैको पनि विरुद्धमा छैन । यो हामी सबैको साझा दायित्व हो । यो विश्व शान्तिको लागि हो । नेपाललाई विश्व गुरु राष्ट्रको रुपमा स्थापित गराउन यो कार्यक्रमको आयोजना गरिएको छ,’ उनले भने ।

नेपालको हिन्दु राष्ट्रको पहिचान मेटाएकोप्रति उनले दुःख व्यक्त गरे । हिन्दुराष्ट्रलाई पुनःस्थापित गराउन त्रिशुल पदयात्राको महत्व रहेको उनले बताए ।

कार्यक्रमका अर्का वक्ता सनातन हिन्दु राष्ट्रका अभियन्ता एवं साहित्यकार ऋषबदेव घिमिरेले त्रिशुल पदयात्रा कार्यक्रमले नेपालले विश्वलाई नेतृत्व गर्छ भन्ने सन्देश प्रवाह गर्ने बताए । धर्मले मानिसलाई कहिले पनि नाश नगर्ने उनको दाबी छ । अहिलेको पुस्ताले धर्म र संस्कार सम्बन्धी धेरै कुरा बिर्सिएको भन्दै उनले त्यसलाई जगाउनका लागि ॐकार शक्ति नेपाल प्रत्येक घरघरमा सन्देश प्रवाहका गर्दै पुग्नुपर्ने उनले बताए ।

‘हामीले धेरै कुराहरु बिर्सेका छौं । उपनिषद्का कुरा बिर्सेका छौं, धर्मशुत्रहरु बिर्सेका छौं । स्मृति र संहिताका कुराहरु विर्सेका छौं । अब राज्य सञ्चालन गर्ने संयन्त्रमा बस्नेहरुको लागि यो संहिता वेदमै थियो भन्ने सन्देशका लागि यो अभियान जरुरी छ,’ उनले भने ।

त्यसैगरी, धार्मिक अभियन्ता एवं कृषि विज्ञ पुष्पराज सापकोटाले उपनिवेशवादी राष्ट्रले कुनै पनि देशमा आक्रमणका लागि पहिला शिक्षामा आक्रमण गर्ने गरेको बताए । शिक्षाको फल स्वरुप नयाँ र पुरानो शिक्षाबीच द्धन्द्ध सुरु भएको उनले बताए । सांस्कृतिक शिक्षामा बन्देज लगाएर नैतिक शिक्षाको अन्त्य भएको उनको दाबी छ । साथै, अहिले धर्मनिरपेक्षताको नाममा देशमा विकृति बढेको उनले आरोप लगाए । उपनिवेशवादी राष्ट्रहरुले धर्म, शिक्षा, राजनीतिमा आफ्नो प्रभुत्व जमाइरहेको सापकोटाको बुझाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. शास्त्रदत्त पन्तले ॐकार शक्ति नेपालले सुरु गरेको अभियान अहिलेको आवश्यकता भएको बताए । उनले यस अभियानमा सबैले साथ दिन पनि आग्रह गरेका छन् ।

ॐकार शक्ति नेपालका प्रमुख एवं कार्यक्रमका सभापति दिनेश कँडेलले त्रिशुल पदयात्रा धर्मरक्षा र राष्ट्ररक्षाका निमित्त भएको बताएका छन् ।

‘यो ऐतिहासिक त्रिशुल पदयात्रा धर्म रक्षा र राष्ट्र रक्षाका निमित्त एउटा एतिहासिक कार्यक्रममा हामी भाग लिँदैछौं । मुलुक अत्यन्त गम्भीर संकटका रुपमा रहेको छ । आज तपाइं/हाम्रो धर्म, संस्कृति, रीतिरिवाजमा प्रहार गरियो,’ उनले भने । त्रिशुल पदयात्राले सबै निराश नेपालीलाई माथि उठाउने उनको भनाइ छ ।

कार्यक्रममा धार्मिक अभियन्ता गोविन्दप्रसाद देवकोटा, स्वामी माधव आनन्द, सामाजिक अभियन्ता तारा बराललगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot