Logo

लोसपा नेतालाई धमलाको प्रश्न– राष्ट्रपतिमा महन्थ ठाकुरलाई किन प्रस्ताव गर्नुभयो ?



काठमाडौं, १० फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री अनिलकुमार झाले देशलाई अभिभावकत्व दिन र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि महन्थ ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गरेको बताएका छन् ।
‘महन्थ ठाकुर सबैलाई समेटेर लान सक्ने नेता हो । उहाँ ६ दशकदेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ । उहाँको कसैसँग पनि विग्रह छैन । त्यसैले देशलाई अभिभावकत्व दिन अनि राष्ट्रिय एकताको प्रवद्र्धनका लागि उहाँको नेतृत्व आवश्यक छ । नेपाल राजनीतिक समावेशिता र समानुपातिक प्रतिनिधित्वको देश हो भन्ने पुनः प्रमाणितका लागि पनि उहाँ राष्ट्रपतिका लागि उपयुक्त हुनुहुन्छ भन्ने लागेर प्रस्ताव गरेका हौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै झाले भने ।
नेता झाले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको र आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको पनि बताए । उनले थपे, ‘हिजो प्रचण्ड र ओली तयार हुनुभयो भन्दा पनि हामीले ध्यानाकर्षण गराएका हौं । यस विषयमा उहाँहरुले सकारात्मक रुपमा सोच्नुहुन्छ भन्ने लागेको छ । आज बिहान साढे ९ बजे शेरबहादुरजीसँग पनि भेट्ने कार्यक्रम छ । सबैलाइ जनाउ दिने, सहयोग गर्ने र समर्थन लिने कुरा उचित नै हो नि ।’
अहिलेको स्थितिमा महन्थ ठाकुर राष्ट्रपति हुने स्थिति छ र भन्ने धमलाको प्रश्नमा उनले भने, ‘हरेक चुनाव गाह्रो नै हुन्छ । अहिले कांग्रेस र एमालेबाहेक अरु दुई दल मिलेर राष्ट्रपति हुने स्थिति छैन । हिँडेपछि मात्र पुगिन्छ । हिँडिरह्यो भने पुगिन्छ भन्ने आशा हुन्छ । पुग्ने नपुग्ने, जित्ने नजित्ने आफ्नो ठाउँमा होला ।’ साथै उनले प्रचण्डले ठाकुरलाई राष्ट्रपति बनाउने वचन नदिएको र मधेसवादी पार्टीले महन्थ ठाकुरलाई समर्थन नगनुपर्ने कुनै कारण नभएको पनि औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot