Logo

देउवा-शेखर एकताले कांग्रेसमा सुखद सन्देश दिन सक्छ : विश्वकर्मा



काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीचको एकताले पार्टीमा सुखद सन्देश दिने बताएका छन् ।
‘वडा तहसम्म लोकतन्त्रको अभ्यास गर्दा पार्टीभित्र समूह विभाजन भई गुट बन्यो । त्यो कहिले झगडा गर्ने, दबाब दिने माध्यम बन्यो भने कहिलेकाहीं दुरुपयोग पनि भयो । यसले उच्च तहमा सोच्नुपर्ने स्थिति बन्यो । चौधौं महाधिवेशनका दुई प्रतिस्पर्धी नेता शेरबहादुर देउवा र शेखर कोइरालाबीच सहज वातावरणमा छलफल हुनु र एक ठाउँमा बसेर निर्णय गर्नुले सिंगो पार्टी पंक्तिमा एकता सन्देशको सुखद सन्देश जानेछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने । पार्टीको आगामी महाधिवेशन देउवाले कोइरालालाई सभापतिमा सघाउने चर्चा छ ।
नेता विश्वकर्माले पार्टीमा नभएर राजतन्त्रमा मात्र पुस्तान्तरण हुने बताए । उनले भने, ‘पार्टीका आदरणीय नेताहरु र पदाधिकारी साथीहरुप्रति मेरो कुनै टिप्पणी छैन । तर कुनै समयमा एमालेले उत्ताउलो भएर पार्टीभित्र ७० वर्षे अवकाशको व्यवस्था गर् यो । अहिले त्यो अव्यावहारिक रहेछ भनेर बदर गर् यो । नेपाली कांग्रेस ऐतिहासिक र सुझबुझ भएको पार्टी हो । पुस्तान्तरण भनेको राजाहरुको मात्र हुँदो रहेछ । हामीले राजनीतिलाई धरातलीय स्तरमा बुझ्नपर्छ ।’ पार्टीलाई एकढिक्का र एकमत बनाएर अघि लैजान लाग्नुपर्ने पनि उनले औंल्याए । उनले आरजु देउवा मुलुकको प्रधानमन्त्री हुन नसक्ने कुनै कारण नभएको पनि बताए । उनले भने, ‘नेपाली कांग्रेसमा लागेका सबै साथीहरु प्रधानमन्त्री हुन योग्य हुनुहुन्छ भने आरजु किन नहुने ?’
अर्को प्रसंगमा नेता विश्वकर्माले सभामुखले मतदान गरे कोसी प्रदेशमा मध्यावधि टर्ने बताए । उनले भने, ‘जनताले औषधोपचार र चुलो बाल्न नपाइरहेका बेला मध्यावधि चुनावमा जानु उपयुक्त छैन । यतिबेला निर्वाचन अनुत्पादक कार्य हो । दलहरुबीच सहमतिको वातावरण बनाएर जनआकांक्षा र जनप्रतिनिधिको हैसियत अनुसार अघि बढ्नुपर्छ । मध्यावधि गर्नुनपर्ने गरी सहमति गरौं ।’
आर्थिक मन्दीका कारण चालु खर्च घटाउन जिल्ला निर्वाचन कार्यालयको खारेजी गरिएको दाबी पनि उनले गरे । विश्वकर्माले भने, ‘निर्वाचन आयोगले हरेक संसदीय निर्वाचन क्षेत्रमै कार्यालय स्थापना गरिसकेपछि नाम मात्रको जिल्ला निर्वाचन कार्यालय किन चाहियो ? बजेट आउँदा सबै सांसदले खुसी व्यक्त गर्नुभएको थियो, अहिले फेरि किन आलोचना भइरहेको छ ? मैले बुझ्न सकेको छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot