Logo

सूर्तिजन्य पदार्थ प्रयोग नियन्त्रणका लागि काठमाडौं महानगरले अभियान नै चलाएको छ : स्वास्थ्य विभाग प्रमुख पौडेल



काठमाडौं, २६ जेठ । नेपालमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा विकास भइरहेको छ । यसको प्रमुख कारकको रूपमा धुम्रपान, मद्यपान र सूर्तिजन्य पदार्थलाई लिने गरिन्छ । सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रतिमिनेट १९ जना मानिसको मृत्यु हुने गरेको तथ्याङ्कहरु सार्वजनिक छन् ।

यसै सन्दर्भमा आज (शुक्रबार) नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा रिपोर्टर्स क्लब नेपालले ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा हुने हानी तथा नोक्सानी, समस्या र नियन्त्रण’सम्बन्धी विज्ञहरुसँग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा विषयविज्ञ र सरोकारवाला निकायहरुको सहभागित रहेको थियो । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा ठूलो हानी तथा नोक्सानी भएको भन्दै यसको उपभोगलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं महानगरपालिका स्वास्थ्य  विभागका प्रमुख  राम प्रसाद पौडेलले काठमाडौं महानगरपालिकाले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमणका लागि कानुनहरु तर्जुमा गर्ने कामहरु गरिरहेको बताए । सूर्तिजन्य पदार्थको सेवन नियन्त्रणका लागि स्थानीय तहलाई अधिकार प्रदान गरिएको अवस्थामा मात्रै थप प्रभावकारी कार्यान्वयन गर्न सकिने उनको भनाई छ ।

‘अहिले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने संघीय कानुन छ । सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमनको जिम्मा स्थानीय तहसम्म आईसकेको छैन । जबसम्म कानुन बन्दैन्, तबसम्म पुरानो संघीय कानुनअनुसार नै हुन्छ । स्थानीय तहहरुले स्थास्थ्यका क्षेत्रमा सघन रूपमा काम गर्न सकिरहेको छैन,’– पौडेलले भने ।

सूर्तिजन्य पदार्थ प्रयोग नियन्त्रणका लागि काठमाडौं महानगरले विभिन्न निकायहरुसँग समन्वय गरी बेलाबेलामा अभियानहरु पनि गरिरहेको उनले बताए । सूर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थ बेच्न पाइने निश्चित् क्षेत्र घोषणा गर्नेगरी काठमाडौं महानगरले ऐनको तर्जुमा गरिरहेकोसमेत उनले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot