Logo

एमाले सांसद मैनालीको प्रश्नमा प्रचण्डको यस्तो जवाफ



काठमाडौं,८ असार । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । शुक्रबारको बैठकमा सांसद र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रश्नोत्तर कार्य जारी रहेको छ । संसद्को प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले विभिन्न विषयमा सरकारसँग जवाफ माग गरेका छन् ।

नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीको प्रश्न- सार्वजनिक खरिद नियमावली २०६३ को नियम ६ को ३ अन्तर्गत निर्माण स्थलको व्यवस्थापन नभई खरिद कार्य गर्न नहुने उल्लेख गरिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु बुढिगण्डकी,सुनकासी,काठमाडौं तराई द्रूतमार्ग,खोकना सडक ,निजगढ अन्तराष्ट्रिय विमानस्थल,पूर्वपश्चिम रेल मार्गको जग्गा अधिग्रहण एवं घरटहरा हटाउने तथा क्षतिपूर्ती दिने साथै तामागढी सिम्रौंनगढ हुलाकी राजमार्गको सडक निर्माणको मुआब्जा जनताले ४ वर्षदेखि पाउन सकिरहेका छैनन् । उक्त मुआब्जा यसै आ.वमा विनियोजन भएको छ छैन ? साथै बहुचर्चित रेलसेवा सञ्चालन बारे सरकारको दृष्टिकोण के छ ? संसद्मा समेत आवाज उठिरहेको रुस यूक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाहरुको संलग्नताको विषयमा पनि सरकारसँग जवाफ चाहान्छु ।

सांसद मैनालीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डको जवाफ -‘सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट सुनिश्चित गर्ने गरेको छ । राष्ट्रिय गौरवका आयोजनाहरुमा विनियोजित रकम कम हुने अवस्थामा पनि आवश्यक्ता अनुसार थप रकमको व्यवस्था गर्ने गरिएको छ । निजगढ अन्तराष्ट्रिय विमानस्थलको आगामी आर्थिक वर्षमा साइट क्लियरेन्सको काम सम्पन्न गर्ने कुरामा सरकारको गहिरो ध्यान गएको छ । रेल सेवा सञ्चालन गर्ने बारेमा सरकार सकारात्मक रहेको छ । साथै राष्ट्रिय गौरवका आयोजनाहरु तथा अन्य प्राथमिकता प्राप्त आयोजनाहरुको जग्गा अधिग्रहण,मुआब्जा तथा क्षतिको क्षतिपूर्ती गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको छ । आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकाय मार्फत सम्बोधन हुने कुरा म मान्यज्यू हरुलाई अवगत गराउन चाहान्छु । अन्तराष्ट्रिय रुपमा घटिरहने राजनीतिक घटनाप्रति नेपाल सरकारको गहिरो ध्यान छ भन्ने कुरापनि म राख्न चाहान्छु धन्यवाद ’ ।



प्रतिक्रिया दिनुहोस्