Logo

‘जय हो’ को दुई एक्सन र तीन गीतको ट्रेलर हेरेकै भरमा दर्शक हलसम्म आउलान् र ?



काठमाडौं, २३ साउन । शोभित बस्नेतले यसपटक आफैं निर्देशन नगरेर अरुनै निर्देशकलाई सुम्पिएको फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक भएको छ । टेक पौरखी राईको निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा केकी अधिकारी र सलोन बस्नेतलाई बढी स्थान दिइएको छ । यसैले, फिल्म सलोन र केकीको वरिपरि नै घुमेको बुझ्न सकिन्छ ।

टेक पौरखी तिनै असफल निर्देशक हुन्, जसले ‘मिलन’, ‘माया पिरिम’ जस्ता बक्स अफिसमा असफल फिल्म दिइसकेका छन् । फिल्मको ट्रेलरले यसको शीर्षक पुष्टि गर्ने आधार छाडेको छैन । अब, फिल्मबाट त्यो आधार बन्नेमा विश्वास गर्न सकिन्छ । फिल्मको ट्रेलरमा ३ गीत र २ एक्सनलाई समावेश गरिएको छ । साथमा, केकी संवादहरू फिल्ममा छन् । यसअघि फिल्मको एउटा गीत र टिजरले दर्शकमा राम्रै छाप छाडेको थियो ।

यता, शोभित पुत्र सलोन बस्नेतका लागि सोलो अभिनय भएको फिल्म चलाउनु नै फलाम चपाउनु बराबर देखिन्छ। सहायक भूमिकामा जमे पनि एकल भूमिका अहिलेसम्म फापेको छैन। फिल्मका निर्देशक अरुनै भए पनि यसको ट्रेलरको स्टाइल भने शोभित बस्नेतको पुराना फिल्म भन्दा विल्कुलै फरक छैन ।

निर्देशक टेक पौरखीले आफ्नो प्रभाव खासै देखाउन सकेका छैनन् । यसैले, ३ गीत र २ एक्सनबाट मुक्त नभएको फिल्मको यो ट्रेलरले के यसको व्यापारमा फाइदा गर्ला त ? यतिकै भरमा हलसम्म दर्शक आउलान् र ! त्यसो त निर्देशक शोभित पटक-पटक आफ्ना अभिव्यक्तिले चर्चामा आइरहन्छन् ।

उनका केही अभिव्यक्तिले बेलाबेला फिल्मकर्मीलाई चिढ्याउने समेत गरेको छ । उनलाई लाग्न सक्छ मैले निमार्ण गरेको फिल्म हो दर्शकले जसरी पनि हेर्छन् । हुन त उनै निर्देशक हुन् जो बक्स अफिसमा असफल ठहरिएको फिल्मको धरी सिक्वेल बनाउँछु भन्छन् । शोभितले नै केही समय अघि भनेका थिए -‘पक्कै पनि फिल्म हेर्न दर्शकलाई हलसम्म तान्ने भनेकै विषयवस्तुले नै हो । तर रिलिज भएको बिहानै दर्शकलाई विषयवस्तु के हो भनेर कसरी थाहा हुन्छ ।’ अब उनको भनाइबाट मुक्त नभएर सार्वजनिक भएको ट्रेलरबाट दर्शकले पुरानै फर्मुलाको फिल्म भन्दा नयाँ अपेक्षा गर्ने ठाउँ देखिएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot