Logo

मिसन ८४ प्रति रास्वपाको धारण के ? यस्तो छ रविको राजनीतिक प्रतिवेदन



काठमाडौं,१४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई पार्टी विस्तार र सुदृढीकरण गर्ने अभियान को रुपमा हेर्नुपर्ने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकमा आफ्नो राजनीतिक प्रतिवेदान पेश गर्दै लामिछानेले मिसन ०८४ बारेमा पार्टीको धारणा र कार्ययोजना सार्वजनिक गरेका हुन् ।

मिसन ८४ का सन्दर्भमा उनले भनेका छन् ‘ मिसन ८४ को व्याख्या । भनिन्छ, सबै मान्छे स्वर्ग जान त चाहन्छ । तर, मर्न चाहन्नन् । त्यस्तै भएको छ, मिसन ८४ को हकमा पनि । तीन दशकदेखि सत्ता र सत्ताको वरिपरि रहेका दल पनि मिसन ८४ भन्न थालेका छन् । जबकि, देशको आवश्यकता र जनचाहना अनुसार काम गर्न उनीहरूलाई नयाँ जनादेशको खाँचो नै छैन । उनीहरूले त अहिले नै रुपान्तरणसहित समृद्धिको मिसन चलाउन सक्छन् । तर, हाम्रै नक्कल गरेर मिसन ८४ भन्नुपर्ने बाध्यतामा छन् उनीहरू पनि ।

क. मिसन ८४ भनेको पार्टी विस्तार र सुदृढीकरण गर्ने अभियान पनि हो । यस अभियानमा हाम्रो एजेण्डाको जानकारीसहित धेरैभन्दा धेरै नागरिकबीच पुग्न सक्नुपर्छ ।

ख.पार्टीमा योग्य, क्षमतायुक्त र इमान्दार उम्मेदवारको दावेदारलाई भित्र्याउने र अगाडि बढाउने अभियान पनि हो मिसन ८४ । यसको अर्थ, यो अभियान आफू पछि हटेर भएपनि टिम भित्र स्वच्छ छवि, स्पष्ट भिजन भएको इमानदार र क्षमतावान मान्छे खोज्ने, रोज्ने र जिताउने अभियान हो ।

ग. मिसन ८४ भनेको धैर्यताको अभियान पनि हो । आउँदो चार वर्ष संगठनलाई चुस्त बनाउँदै विकृति विसंगतिको खबरदारी र नागरिकका मुद्दामा एकाकार हुन सक्यौं भने पनि हामी थप स्थापित हुनेछौं । राजनीतिमा स्थापित हुन गुट, उपगुट, सदस्यता खरीद, घात, अन्तर्घातको राजनीति अबको पुस्ताले गर्नु पर्दैन ।

घ. मिसन ८४ आफ्नै पारदर्शिताको अभियान पनि हो । हरेक पदाधिकारीले अब आफ्नो जीवनयापनको स्रोत सार्वजनिक गर्नुपर्छ । राजनीतिलाई जीवनयापनको माध्यम बनाउने होइन । जीवन धान्न धौ धौ परेको साथीलाई उद्यममा सघाऔं, सक्रिय राजनीतिमा होइन । सके लिडर, नसके भोटर मात्र हुँदा पनि केही फरक पर्दैन, पर्नु हुँदैन’ ।

उनले मिसन ०८४ का नाराहरुमा परिवर्तन हुनसक्ने र सरकारले ०८४ अधिनै मध्यावधि निर्वाचन गराउने सक्नेसमेत शंका ब्यक्त गरेका छन् । ठूलादलहरुप्रति जनतामा बढ्दै गएको नैराश्यताको प्रमुख कारकमा उनले पूराना दलहरुको व्यवहार राजनैतिक शैलीलाई मानेका छन् । समयअगावै मध्यावधि हुनेभन्दै उनले कार्यकर्तालाई तयारी हालतमा रहन निर्देशनसमेत दिएका छन् ।

‘एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने रु सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं । हैन भने यही बेथितिको निरन्तरता अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला रु पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन् । साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचना लाई ‘स्ट्यान्ड बाइ’ रहन निर्देशन दिन्छु’ । उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot