Logo

एपीएफलाई हराउँदै मधेश फाइनलमा प्रवेश, उपाधिका लागि आर्मीसँग भिड्ने



काठमाडौं,१४ मंसिर । विभागीय टिम एपीएफलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा क्रिकेट मैदानमा मधेशले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८६ रनमा समेटिएपछि मधेशले ११ रनको जित हात परेको हो ।

एपीएफका लागि कप्तान प्रदीप ऐरीले ५५ तथा सन्दीप जोराले ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । ऐरीले ४२ बलमा ४ छक्का र तीन चौका प्रहार गरे भने जोराले ३१ बलमा ५ छक्का र ३ चौका हिर्काए । ऐरी र जोराको अतिरिक्त लोकेश बमले ३२ र भुवन कार्कीले १४ रन थपे ।

तेस्रो विकेटका लागि सन्दीप जोरा र प्रदीप ऐरिले १०६ रनको साझेदारी गर्दै इनिङस् सम्हालेका थिए। तर त्यसपछि लगातार विकेट पतन हुँदा एपीएफ जित नजिक पुगेर पनि टाढिएको हो।

बलिङतर्फ मधेशका विशाल पट्टेलले तीन तथा हरिशंकर साह र प्रदिप पासवानले समान २ विकेट लिए ।

यसअघि टस जितेर सुरुवातमा ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९७ रन जोडेको थियो । मधेशका लागि शानदार प्रदर्शन गर्दै इमरान खानले ५० रन बनाउँदै अर्धशतक पूरा गरे । ४ छक्का र ३ चौका हिर्काउँदै उनले ५० रन जोड्दा अर्का ओपनर अनिल साहले ३६ बलमा ५७ रनको पारी खेले । अनिल र इमरानले दोस्रो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए ।

त्यस्तै कप्तान हरिशंकर साह १२ बलमा १० रन बनाउँदै आउट भए भने पवन सर्राफले १९ बलमा ४ चौका र २ छक्का हिर्काउँदै ३३ रन जोडे । हिमांसु दुत्तले १५ रन थप्दा रुपेश सिंहले २१ रन जोडे ।

बलिङतर्फ एपीएफका मौसम ढकालले ३ विकेट लिए भने अमर रौटेलाले २ विकेट लिए । पुरन विकले १ विकेट लिए ।

मधेशले भोलि उपाधिका लागि विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ । आर्मीले आज भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई हराउँदै मधेशसँगको भेट पक्का गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्