Logo

व्यवसायिक सफलताको विश्व उडान भर्न सफल लक्ष्मी राई : व्यवसाय र समाजसेवा सँगसँगै



काठमाडौं, २ पुष । ज्वेलरी विजनेसमा विश्व उडान भर्न सफल नेपाली चेली लक्ष्मी राई बेलायतको एल्डरसटमा मुख्यालय रहेको ‘न्यू लक्ष्मी ज्वेलर्स युके’ लाई नेपालमा पनि स्थापित गर्न लागिपरेकी छिन् । उनी यतिवेला न्यू लक्ष्मी ज्वेलर्सको नेपाल शाखाको लागि काठमाडौंमा व्यस्त छिन् । युरोप, अमेरिका र क्यानडासहित विश्वभरि न्यू लक्ष्मी ज्वेलर्सको शाखा विस्तार गरेकी लक्ष्मी ज्वेलरीबाहेक अन्य व्यवसायमा समेत सफल छिन् । ८५ भन्दा बढि देशमा व्यापार–व्यवसायको सञ्जाल खडा गर्न सफल राई नेपाललाई समृद्ध बनाउने पवित्र उद्देश्य बोकेर काठमाडौंमा व्यस्त छिन् ।

व्यवसायिक सफलताको शिखरमा रहेकी लक्ष्मी अत्यन्तै सरल, मृदुभाषी र चूनौतिसँग जुध्नसक्ने सामथ्र्य राख्छिन् । ‘व्यवसायमा सफलता हाँसिल गर्न सजिलो छैन्, निरन्तरको मेहनत र अनुशासनले नै मानिसलाई व्यवसायमा सफल बनाउँछ, मैले पनि त्यही सू त्रलाई आत्मसात गरेकी हुँ’–रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनी आफ्नो सफलताबारे यसरी खुलिन् । उनी भोजपुरको पौवा दुम्बा गाउँपालिका ठूलो दुम्बा गाउँमा जन्मिएकी हुन् । तर, उनको बाल्यकाल भने बेलायतमा नै बित्यो । उनका बुवा बेलायती सेनामा थिए । त्यही भएर उनी बाल्यकालमा नै बेलायत सिफ्ट भईन् । र, आफ्नो शैक्षिक करियर बेलायतमा नै सुरु गरिन् । सानैदेखि निडर लक्ष्मीलाई कडा मेहनतकै कारण व्यवसायमा सफलता मिल्यो । उनलाई लक्ष्मी माताको कृपा छ भन्दा फरक नपर्ला ।

व्यवसायिक सफलताको विश्व उडान भरिसकेकी लक्ष्मीले व्यवसाय भने एकल पहलमा नै सुरु गरेकी रहेछिन् । ‘म सानैदेखि केही न केही क्रिएटिभ काम गर्न रुचाउँथे । अध्ययन सकिएपछि आफ्नो विजनेस सुरु गर्नुपर्छ भनेर नै मैले यसमा हात हालेको हुँ । अहिले जे र जुन स्थानमा छु, त्यो मेरो सकारात्मक सोच र टिम वर्कले नै सम्भव भएको हो । म टिम लिडर हुँ, तर म टिमवर्कमा विश्वास गर्छु ।’

लाखौंको संख्यामा नेपालीहरु रहेको बेलायतमा उनी मन भएकी समाजसेवीको नामले पनि परिचित छिन् । उनी नेपालीहरुसँग अन्तरक्रिया गर्न रुचि राख्छिन् । र, नेपालीहरुलाई पर्ने हरेक दुःख र सुखमा साथ दिन्छिन् । रोचक त के भने उनको प्रभाव नेपाली समूदायमा मात्रै नभएर बेलायतका मन्त्रीहरुसम्म छ । उनको ज्वेलर्समा बहालवाला मन्त्रीहरु नै आउँछन् । र, उनको कामको प्रशंसा गर्छन् । कति मन्त्री त उनीसँग चिया गफसमेत गर्ने गर्छन्। उनीनिकटहरुका अनुसार लक्ष्मीको अहिलेका प्रधानमन्त्री ऋषि सुनाकसँग पनि राम्रो सम्बन्ध छ ।

उनले ब्रिटिश गोरखाका समस्या समाधानको लागि निरन्तर सक्रिय भूमिका निर्वाह गरेकी छिन् । विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको छाता संगठन एनआरएनए बेलायतमा पनि उनको उत्तिकै सक्रियता छ । सफल व्यवसायीसँगै उनको अर्को ठूलो पहिचान भनेको –समाजसेवी पनि हो । बेलायतमा होस चाहे मातृभुमी नेपालमा होस गरिब, असहायलाई सहयोग गर्न पाउँदा उनी औधी खुशी हुन्छिन् । नेपालको कला, संस्कृतिको संरक्षणमा पनि उनको योगदान रहँदै आएको छ । लक्ष्मीले व्यवसाय र समाजसेवालाई संगसँगै लगेकी छिन् । उनी दैनिक १८ घण्टा काम गर्छिन् । परिवारलाई पनि उत्तिकै समय दिईरहेकी हुन्छिन् । भन्छिन्–‘समय भन्ने कुरा म्यानेज गर्ने कुरा हो । हामीले काममा फोकस हुनुपर्छ । विजनेस, सोसल वर्क र फ्यामिली सबैलाई म उत्तिकै समय दिईरहेकी छु ।’

अहिले उनी नेपालमा केही गरेर देखाउने सोचका साथ काठमाडौंमा छिन् । उनले प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु र पूर्वमन्त्रीहरुसँग भेटवार्तासमेत गरेकी छिन् । हालै उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेट गरेकी छिन् । सो भेटमा आफ्नो व्यवसाय र लिडरसिप क्वालिटीलाई लिएर प्रधानमन्त्रीले प्रशंसा गरेको उनी सुनाउँछिन् । प्रधानमन्त्रीसँगको भेटमा आफूले ‘नेपालमा पनि विभिन्न व्यवसाय गरेर सफल भएर देखाउने सोच राखेको र त्यहीअनुसार तयारी गरेको’ बताएको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रशंसा गरेको उद्धृत गर्दै लक्ष्मीले भनिन्–‘व्यवसाय र समाजसेवा सँगसँगै लगेर एकदमै उदाहरणीय काम गर्नुभयो, म यो प्रगति देखेर निकै खुशी छु । नेपाल सरकार चाहिने सहयोग र समर्थन गर्न तयार छ ।’

लक्ष्मीसँग नेपालको लागि राजनीतिक मिसन पनि छ । त्यो भनेकने देशको समग्र विकास र नेपालीहरुको मुहारमा मुस्कान छर्नु हो । सबैले सेवा भावका साथ काम गर्ने हो भने नेपाल समृद्ध हुन समय नलाग्ने उनको दाबी छ । उनकाअनुसार विश्वका विकसित देश अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया र युरोपमा नेपालीहरु व्यवसाय र शैक्षिक रुपमा सफलताको शिखरमा रहेको भन्दै अब उनीहरुले मातृभूमीको लागि योगदान गर्ने समय आएको छ । उनीहरुको सिप र क्षमतालाई नेपालको विकासको लागि प्रयोग गर्नुपर्ने भन्दै उनले त्यसको लागि नेपाल सरकारले पनि त्यहीअनुसारको नीति बनाउनुपर्ने र उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने लक्ष्मीको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot