Logo

एमाले-माओवादीले मलाई मुख्यमन्त्री बनाएनन् भने कमल बहादुर शाहकै नेतृत्वको सरकार चलिरहन्छः दीर्घ सोडारी



काठमाडौं, ६ वैशाख । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले आफूलाई एमाले–माओवादीले मुख्यमन्त्री नबनाए कमलबहादुर शाहकै नेतृत्वमा सरकार अगाडि जाने बताएका छन् ।

आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आज ५ बजेसम्म एमाले–माओवादीका सांसदले समर्थन नगरेको खण्डमा काम चलाउ सरकारका मुख्यमन्त्री शाहकै नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले आफूलाई समर्थन सत्तारुढ गठबन्धन दलले समर्थन नगरेको खण्डमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको सरकार बन्ने उनले संकेत गरे ।

‘५ बजेसम्म समय छ । भएन भने कमल शाहको नेतृत्वको सरकार चलिरहन्छ । कांग्रेसको नेतृत्वको काम चलाउ सरकार छ । फेरि धारा ३ मा गयो भने फेरि कांग्रेसको सरकार बन्छ,’– उनले भने ।

एमालेले सोडारीको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावमा असहमति जनाउँदै आएको छ । एकीकृत समाजवादीले सोडारीबाहेक उपयुक्त पात्रलाई मुख्यमन्त्रीमा अगाडि सार्नुपर्ने एमालेको भनाइ छ । प्रदेश प्रमुख नजीर मियाँले सरकार गठनका लागि दलहरुलाई दिएको समय आज बेलुका ५ बजे सकिँदै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot