Logo

ओशोको दृष्टिमा प्रेम



प्रेम के हो ? बाँच्नु र जान्नु त सजिलो छ, तर भन्न धेरै गाह्रो छ । सागर के हो भनेर कसैले माछालाई सोध्यो भने माछाले भन्न सक्छ : यो सागर हो, यो चारैतिर छ, यो त्यही हो । तर कसैले ‘भन के हो’ भनी सोध्यो भने, त्यतिखेर माछालाई धेरै गाह्रो हुन्छ । मानिसको जीवनमा पनि जुन श्रेष्ठ छ, सुन्दर छ र सत्य छ, त्यसमा बाँच्न सकिन्छ, जान्न सकिन्छ, बन्न पनि सकिन्छ, तर भन्नलाई साहै गाहो हुन्छ । अनि दुर्घटना र दुर्भाग्य के छ भने-जसमा बाँच्नुपर्ने हुन्छ, जसमा हुनुपर्ने हुन्छ, त्यसका सम्बन्धमा भने मनुष्यजाति पाँच- हजार वर्षदेखि कुरै मात्र गरिरहेको छ । प्रेमका कुरा चल्दै छन् । प्रेमका गीत गाइँदै छन्, प्रेमका भजन गाइँदै छन् तर प्रेमको मनुष्य जीवनमा कुनै स्थान छैन । मान्छेका भित्र खोज्ने हो भने प्रेमभन्दा ज्यादा असत्य सिवाय अरू भेटिंदैन । अनि जसले प्रेमलाई असत्य सिद्ध गरिदिएका छन् र जसले प्रेमका समस्त धाराहरूलाई थुनिदिएका छन्, तिनैलाई मानिसहरू नै प्रेमका जन्मदाता पनि हुन् भन्ने ठान्दछन् । यो बडो दुर्भाग्यपूर्ण छ ।

धर्मले प्रेमका कुरा गर्दछ, तर आजपर्यन्त मनुष्यजाति माथि जुन प्रकारको धर्मले दुर्भाग्यझैं ढाकेको छ, त्यही धर्मले नै मानिसको जीवनबाट प्रेमका सारा ढोका थुनिदिएका छन् । मनुष्यको भन्दा बढी प्रेम पशुपक्षी र बिरूवाहरूमा देखिन्छ। तिनीहरूमा न संस्कृति छ, न कुनै धर्म छ । संस्कृत र सुसंस्कृत अनि सभ्य मनुष्यहरूभन्दा असभ्य र जङ्गली मान्छेहरूमै धेरै प्रेम पाइन्छ उनीहरूसँग न कुनै विकसित धर्म छ, न कुनै सभ्यता छ, न कुनै संस्कृति नै छ। मान्छे जतिजति सभ्य, सु-संस्कृत र तथाकथित धर्मका प्रभावमापरेर मन्दिर र गिर्जाघरहरूमा प्रार्थना गर्न थाल्दछ, उति नै किन प्रेमशून्य हुँदै छ ? मनुष्यभित्र प्रेम लुकेको छ, खालि त्यसलाई उघार्नु मात्र पर्छ । त्यो उत्पन्न गरिरहनु पर्दैन, अनावृत्त गर्नुपर्छ । हामीले आफूलाई एउटा आवरणले ढाकेका छौं जसले प्रेमलाई प्रकट हुन दिँदैन । प्रेम हामीभित्रै छ । प्रेम हाम्रो स्वभाव हो । त्यसैले मनुष्यलाई तिमी प्रेम प्रकट गर भनी सम्झाउनु नै गलत हो । के कुरा बुझ्नुपर्छ भने प्रेम किन उत्पन्न हुन सकेको छैन ? त्यसमा बाधा के छ ? समस्या के छ ? कहाँ अवरोध उत्पन्न गराइएको छ ? कुनै अवरोध छैन भने प्रेम प्रकट हुन्छ नै, त्यसलाई सिकाउने र बुझाउने कुनै आवश्यकता छैन । यदि मनुष्यमाथि गलत संस्कृति र गलत संस्कारहरू बाधा बनेका छैनन् भने सबै मान्छे प्रेमका निमित्त उपलब्ध हुन्छ । यो अनिवार्यता हो । प्रेमबाट कोही पनि जोगिन सक्तैन । प्रेम स्वभाव हो । गंगा हिमालयबाट बग्छ । गंगा  बग्छ, उसमा प्राण छ, ऊसँग पानी छ । बग्दैबग्दै उसले सागरलाई भेट्टाइछोड्छ । उसले सागर कहाँ छ भनेर न प्रहरीसँग सोधखोज गर्छ न कुनै पुरोहितसँग नै सोध्छ । चौबाटामा उभिएर गङ्गाले सागर कहाँ छ भनेर सोध्दै गरेको कसैले देखेको छ ? उसको प्राणमा सागरको खोज लुकेको छ, उसमा ऊर्जा छ र पहाड फोड्दछ, मैदान खियाउँछ र सागरसम्म पुग्दछ । सागर जति नै टाढा भए पनि, जहाँ लुके पनि आखिर खोजेरै छोड्छ । कुनै बाटो छैन, कुन बाटो जाने भन्ने कुनै गाइड- किताब नभए तापनि ठाउँमै पुग्दछ । तर बाँध बाँधिदिऔं, चारैतिर अग्ला ढिस्काहरू उठाइदिऔं भने गङ्गा सागरसम्म नपुग्न सक्छ । यो फरक चाहिँ बुझ्न आवश्यक छ । म तपाईंहरूलाई के भन्न चाहन्छु भने मान्छेले नै बाधाहरू उत्पन्न गरेको हो । प्रेमको गङ्गा त बग्न सक्छ र परमात्माको सागरसम्म पुग्न सक्तछ । मान्छेको सृष्टि किन भएको हो भने ऊ बगोस्, प्रेम बगोस् अनि परमात्मासम्म पुगोस् । तर हामीले कस्ता बाधा तेर्स्याईदिएका छौं त ?

पहिलो कुरो, आजसम्म मनुष्यका सारा संस्कृतिहरूले यौन, काम, वासनाको विरोध गरेका छन् । यस विरोधले मनुष्यभित्रको प्रेमको जन्मको सम्भावनालाई हटाइदिएको छ, नष्ट गरिदिएको छ- यही निषेधले ! किनभने सत्यता के हो भने प्रेमको सम्पूर्ण यात्राको प्राथमिक विन्दु नै काम हो, यौन हो । प्रेमयात्राको जन्म, गङ्गोत्री- जहाँबाट प्रेमको गङ्गा उत्पन्न हुन्छ- त्यो यौन हो, त्यो काम हो । अनि यसका सबै शत्रु बनेका छन्- सारा संस्कृति, सारा धर्म, अनि सारा गुरू र सारा महात्माहरूले यसरी गङ्गोत्रीमाथि नै प्रहार गरिदिए, स्रोतमै रोकिदिए । उनीहरूले भने– काम पाप हो,काम अधम हो, काम बिख हो । अनि हामीले चाहिँ के सोचेनौ भने कामको ऊर्जा, यौनशक्ति नै अन्ततः प्रेममा परिवर्तन हुन्छ र रूपान्तरण हुन्छ । प्रेमको विकास नै कामशक्तिकै ट्रान्सफर्मेसन हो, यो त्यसैको रूपान्तरण हो ।

एउटा कोइलाको टुक्रा छ र तपाईंलाई पटक्कै के थाहा हुँदैन भने कोइला नै रूपान्तरण भई हीरा बन्दछ । हीरा र कोइलामा सारभूत रूपमा केही फरक छैन । हीरामा पनि तिनै तत्त्व छन् जुन कोइलामा छन् । अनि हजारौं वर्षका प्रक्रियाबाट गुज्रिएर कोइला हीरा बन्दछ । कोइलाको शक्ति नै हीरा बन्दछ । अनि तपाईं कोइलाका शत्रु बन्नुभयो भने- यस्तो हुन अति सजिलो पनि छ, किनभने कोइलामा केही पनि देखिंदैन- तब हीरा बन्ने सम्भावना नै समाप्त हुन्छ, किनभने कोइला नै हीरा बन्न सक्तथ्यो । यौनशक्ति नै, कामशक्ति नै प्रेम बन्दछ । तर सारा त्यसको विरोधमा छन्, सबै शत्रु छन् त्यसको । राम्राराम्रा मान्छे पनि त्यसका शत्रु छन् । अनि त्यसको विरोधले प्रेमको अङ्कुरण हुन पाएन । अनि जमिनबाट, पहिले नै, पहिलो खुड्किलाबाटै भवनलाई नष्ट गरियो । फेरि त्यो हीरा कोइला बन्न पाएन । म तपाईंहरूलाई पहिलो कुरा भन्न चाहन्छु : प्रेमतत्त्व के हो भन्ने जान्न चाहनुहुन्छ भने पहिलो सूत्र हो- कामको पवित्रता, दिव्यता, त्यसको ईश्वरीय अनुभूतिको स्वीकृति, त्यसलाई परम हृदयबाट, पूर्ण हृदयबाट अङ्गीकार । अनि तपाईं छक्क पर्नुहुनेछ, जति परिपूर्ण हृदयबाट कामको स्वीकृति हुन्छ, उति नै तपाई काम-बासनाबाट मुक्त हुँदै जानुहुन्छ । जति अस्वीकार हुन्छ, हामी त्यति नै बाँधिन्छौं । जति स्वीकार हुन्छ, उति नै हामी मुक्त हुन्छौं । जीवनको निसर्गप्रति परिपूर्ण स्वीकृतिलाई म आस्तिकता भन्दछु, त्यही आस्तिकताले व्यक्तिलाई मुक्त गर्दछ । म त्यस्तालाई नास्तिक भन्दछु जो जीवनको निसर्गलाई अस्वीकार गर्दछन्, निषेध गर्दछन्- यो ठीक होइन, यो पाप हो, यो विष हो, यो छोड, यो छोड, यो छोड । जसले छोड्ने कुरा गर्दछन्, तिनीहरू नै नास्तिक हुन् । जीवन जुन रूपमा छ, त्यसलाई स्वीकार गर्नुहोस् र त्यसको परिपूर्णतामा बाँच्नुहोस् । त्यही परिपूर्णता नै दिनहुँ खुड्किला उक्लँदै जान्छ । त्यही स्वीकृतिले मनुष्यलाई माथि उचाल्छ । अनि एक दिन त्यसको दर्शन हुन्छ जसको काममा अत्तोपत्तो नै लाग्दैनथ्यो । काम कोइला भयो भने एक दिन प्रेमको हीरा पनि पाइन्छ । त, पहिलो सूत्र यो हो ।

दोस्रो सूत्र म तपाईंहरूलाई भन्न चाहन्छु । त्यो दोस्रो सूत्रलाई पनि संस्कृति र आजसम्मको सभ्यता र धर्मले हामीभित्र जरा गडाइदिएको छ । दोस्रो सूत्र पनि स्मरणीय छ । किनभने पहिलो सूत्रले त कामको ऊर्जालाई प्रेममा परिणत गराइदिन्छ र दोस्रो सूत्रले चाहिँ ढोकाझैं त्यस ऊर्जालाई बहन दिन रोकिरहेको छ, त्यो बहन पाउँदैन । त्यो दोस्रो सूत्र हो मनुष्यको ‘म हुँ’ भन्ने भाव, म हुँ भन्ने उसको अहंकार । खराब मानिसहरू त भनि नै हाल्छन् म हुँ भनेर । असल मानिसहरू पनि ठुल्ठुलो स्वरमा म हुँ भन्दछन् । अनि जुन मानिसको अहंकार जति बलियो हुन्छ, उति नै अरूसँग मिलजुल गर्ने, प्रेम गर्ने सामर्थ्य कम हुन्छ । जबसम्म भिन्नता हुन्छ तबसम्म प्रेमको अनुभव हुन सक्तैन ।

प्रेम एकात्मको अनुभव हो । प्रेम कुन कुराको अनुभव हो भने भित्ता भत्किएर दुई ऊर्जा एकआपसमा मिले र संयुक्त भए, प्रेम कुन कुराको अनुभव हो भने एक व्यक्ति र अर्को व्यक्तिका सबै सीमाहरू मेटिए र प्राण संयुक्त भए, मिले र एक भए । जब यही अनुभव एक व्यक्ति र समस्तका बीच फलित हुन्छ, त्यस अनुभवलाई म परमात्मा भन्दछु । अनि जब दुई व्यक्तिहरूका बीच फलित हुन्छ, म त्यसलाई प्रेम भन्दछु ।

‘म र अर्को’ व्यक्तिका बीच यो अनुभव फलित भई हाम्रा सीमाहरू भत्किए र हामी भित्री तहमा एक भयौं भने एउटा सङ्गीत, एउटा धारा, एउटा प्राण हुनु नै प्रेमको अनुभव हो । प्रेम सधैं निहुरिन तयार हुन्छ, अहङ्कार निहुरिन कहिल्यै तयार हुँदैन । प्रेम आनन्दमग्न हुन्छ, जब प्रेम कसैका निम्ति छाया बन्दछ । अहङ्कार आनन्दमग्न हुन्छ, जब उसले कसैको छाया खोस्दछ । अहङ्कारले लिने भाषामात्र बुझ्दछ । प्रेम दिने भाषा हो । यतिभन्दा बढी म केही पनि भन्दिनँ । प्रेम त्यस्तो रूख बनोस्, अनि त्यसका हाँगाहरू अनन्तसम्म फैलियून्, सबै त्यसका छायामा होऊन् र सबैसम्म त्यसका हाँगा पुगून्, अनि मात्र प्रेम के हो भन्ने थाहा पाउन सकिन्छ । प्रेमको कुनै शास्त्र छैन, न परिभाषा नै छ, न प्रेमको कुनै सिद्धान्त छ । त्यसैले म प्रेम के हो भनेर तपाईंहरूलाई के भनूँला भन्ने अलमलमा थिएँ । त्यो त बुझाउनै गाह्रो छ । आएर बस्न सक्तछु- मेरा आखामा देखिन्छ भने देखिएला, मेरा हातमा देखिन्छ भने देखिएला । म भन्न सक्तछु- यो हो प्रेम । तर प्रेम के हो, मेरा आँखा देखिएन भने, मेरा हातमा देखिएन भने, शब्दमा त पटक्कै देख्न सकिंदैन ।

अनुवादः दीपेन्द्र लोवा लिम्बु

 



प्रतिक्रिया दिनुहोस्