Logo

प्रचण्डको दाबी : प्रदेश नम्बर २ मा पनि हाम्रो पार्टी पहिलो बन्ने आधार छ



देउवा कदममा गुटैगुट

काठमाडौं  नेकपा(माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनको तेस्रो चरणको पूर्व सन्ध्यामा आज धनुषाको जनकपुरधाममा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिदै उनले पार्टीलाई पहिलो पार्टी बनाउन निर्वाचन अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले भने, ‘भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ । अरु पार्टीहरुले भ्रमको खेती गरेका छन् । तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ ।’
अध्यक्ष प्रचण्डले अगाडि जोड दिदै भने, ‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो । नश्लवादी राष्ट्रवादले अन्ततः जाती जातीलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फाँसीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’

माओवादी केन्द्र नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको स्पष्ट पार्दै उनले आफूहरुले उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहेको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन् । उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ । त्यो हामीलाई सह्य छैन ।’

हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराईमधेशका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा रहेको भन्दै उनले एमाले र मधेशी दलले लिएजस्तो जाती जाती भिडाउने नारा नभएको बताए ।

मधेशी जनताको मुक्तिका लागि १३०० जनाले सहादत गरेको स्पष्ट पार्दै उनले मधेशको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र मात्रै भएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले भने, ‘मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई मधेशलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot