Logo

राजनीतिक विकृतिको अन्त्यका लागि वाम गठबन्धन : मन्त्री शर्मा



काठमाडौँ, १४ मंसिर : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्माले विद्युत्भार कटौतीको अन्त्य जस्तै राजनीतिमा रहेको विकृतिको सुधारका लागि वाम गठबन्धनको विजय अत्यावश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ काठमाडौँले यहाँ आज आयोजना गरेको बृहत् अगुवा कार्यकर्ता भेला एवं चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक स्थिरता र आर्थिक समुन्नतिका लागि वामपन्थी सरकार आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वामपन्थीको एकता र सहकार्यको बलमा संविधानसभाबाट संविधान जारी भयो । त्यसको कार्यान्वयनका लागि वामपन्थी शक्ति एकै ठाउँमा आएका छन् । जनताको लामो समयदेखिको चाहनाको परिपूर्तिका लागि पनि विचार मिल्नेबीच एकता र सहकार्य जरुरी थियो । त्यो प्रक्रियामा हामी अग्रसर छौँ ।”

विनाविभागीय मन्त्रीसमेत रहनुभएका नेता शर्माले राजधानीका मतदाता परिवर्तनशील भएकाले काठमाडौँ क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सो क्षेत्रका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले राजधानीको मुटुका रुपमा परिचित क्षेत्र नं १ लाई सुन्दर, सम्भय र भव्य बनाउने लक्ष्यका साथ गठबन्धन चुनावी अभियानमा लागेको र विजयी भएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रदेशसभाका उम्मेदवारद्वय विष्णुकुमारी भुसाल र गणेशप्रसाद दुलालले राजधानीका जनता विवेकमा निर्णय गर्ने भएकाले वाम गठबन्धन पूर्ण बहुमतका साथ विजयी हुने धारणा राख्नुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot