Logo

मेयर्स रिसर्च फेलोसिपमा एउटा पनि आवेदन आएन



काठमाडौ, फागुन २३ । काठमाडौँ महानगरपालिकाले शहरी समस्याको दिगो समाधानका लागि ‘मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२०’ अघि सारे पनि त्यसका लागि हालसम्म एउटा आवेदन परेको छैन । कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामा नै सूचना प्रकाशन गरी आगामी चैत पहिलो सातासम्म मात्र आवेदन दिने मिति तय गरेको भए पनि हालसम्म आवेदन परेको छैन ।

“यो युवा लक्षित कार्यक्रम हो, निवेदन नआउने भन्ने त हुँदैन, अन्तिममा मात्रै काम हुने प्रचलन रहेको र केही दिन अझै बाँकी रहेकाले अन्तिमसम्ममा आवेदन पक्कै आउला”, आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी गराए । काठमाडौँको मुख्य समस्या फोहरको दीर्घकालीन व्यवस्थापन, ट्राफिक जामको समस्या समाधान, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अनधिकृत बसोबास, दिगो विकासजस्ता विषयको दिगो समाधान खोज्नुपर्नेछ ।

कम्तीमा पनि स्नातकोत्तर र सम्बन्धित विषयमा दुई वर्ष अनुसन्धानात्मक कार्य गरेका व्यक्तिले नयाँ तरिकाबाट समस्याको समाधान गर्ने उपायसहित कामपा, शहरी योजना आयोगमा आवेदनसहितको प्रारम्भिक प्रस्ताव पेश गर्नुपर्नेछ । त्यसका लागि कामपाले शुरुमा रु एक लाख ५० हजार सहयोग गर्छ । अनुसन्धानमा आवश्यक परे अन्य सहयोग पनि गरिने आयोगका उपाध्यक्ष बस्नेतले जानकारी दिए । –रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot