Logo

बामदेवलाई पाल्पा १ यसकारण सजिलो छैन



काठमाडौं, २१ बैशाख । पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ सालको आम निर्वाचनपछि अहिलेसम्म प्रत्येक चुनावमा नेकपा एमाले ( पछिल्लो वामगठवन्धन–२०७४) ले जितेको छ । २०४८ मा कांग्रेसका कालुराम रानाले त्यस क्षेत्रलाई जितेका थिए । तर पछिल्लोपटक भने ३ बाट २ क्षेत्र बनेको पाल्पामा अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमका लागि पाल्पा निर्वाचन क्षेत्र नम्बर १ खाली गराउने चर्चाले तरंग ल्याएको छ ।

प्रतिनिधि सभामा गौतमलाई लैजाने सहमति बनेको चर्चाले जिल्लाका नेता कार्यकर्तालाई समेत अचम्मित तुल्याएको छ । यसले जिल्लाको राजनीतिमा तरंग फैलिएको छ ।

हुन त पार्टीले चाह्यो भने बामदेव पाल्पामा उम्मेदवार हुन नसक्ने भन्ने होइन । तर, अहिलेसम्म स्वयंम् त्यस क्षेत्रबाट निर्वाचित भएर प्रतिनिधिसभा सांसद बनेका दलबहादुर रानालाई यस विषयमा जानकारी नै नभएको विज्ञप्ति आइसकेको छ । नेकपाका जिल्ला अध्यक्ष नारायण आचार्य पनि यसमा बेखबर छन् । औपचारिक जानकारी नभएको बताउने दलबहादुर र नारायण ओली पक्षधर मानिन्छन् । भोलि दुवै नेताले पार्टीको निर्णय मान्ने सम्भावना उत्तिकै छ । तर, पनि कार्यकर्ता तहमा भने यसले तरंग फैलाइसकेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धनमा सामेल भएका उपाध्यक्ष बामदेव अन्तिम समयमा आएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा किन पुगे ? भन्ने चर्चा चलिरहेको थियो । तर, पनि पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वा्चित साँसद दलबहादुरलाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई निर्वा्चित गराएर प्रतिनिधिसभामा लैजाने महासचिव विष्णु पौडेलले तारतम्य मिलाएको हुनुपर्छ । त्यसपछि गौतम प्रम ओलीको पक्षमा उभिएको भन्ने एकथरीको तर्क छ ।

यसले पाल्पाको राजनीतिमा तरंग भने फिँजाएको छ । सामाजिक सञ्जालमा नेकपाका कार्यर्कता, जिल्लास्तरीय नेता, गाउँपालिका तहका नेता, कार्यकर्ताको पनि असन्तुष्टि देखिएको छ । उनीहरुले असन्तुष्टि पोखिरहेका छन् । वर्दियामा भन्दा फरक मतले हराउनेसम्मका प्रतिक्रिया र टिप्पणी आएका छन् । गाउँपालिका तहका नेता, विशेषगरी मगर समुदायका कार्यकर्तामा थप असन्तुष्टि आएको छ । उनीहरुले हाँस्यापद निर्णय हुने र कांग्रेसको एक सिट बढ्नेसम्मको प्रतिक्रिया लेखेका छन् । कतिपयले मुलुकले ठूलो नेता पाएपनि सिद्धबाबाको बाटो बनाएपछि उम्मेदवार बन्न आउनु भन्ने पनि छ । कोही नपाएर पार्टीले सोझो मगरलाई ‘बलीको बोको’ बनाएको समेत बताएका छन् ।

हुन त क्षेत्र नम्बर १ पहिला ३ वटा क्षेत्र हुँदा जस्तो निर्वाचन जित्न सहज भने पक्कै छैन । ३ वटा क्षेत्र हुँदा सूर्य चिन्ह लिएर जो उठेपनि जित्छ भन्ने देखाएकै हो । तर, अहिले भने समय परिस्थिति बदलिएको छ । अहिले क्षेत्र १ पनि भूगोल बिस्तार भएको छ । यही क्षेत्रमा पाँच स्थानीय तह र थप दुई वडा छन् । माथागढीको एक वडा क्षेत्र २ मा पर्छ । रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी र तानसेन नगरपालिकाको एक, तिनाउको एक वडा पनि थपिएको छ ।

पूर्वखोला र निस्दी सूर्य चिन्हका लागि बलियो स्थानीय तह हुन् । तर माथागढी, रामपुर र रम्भा भने त्यति सहज छैन । स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने पनि निस्दीमा ७ मध्ये दुई वडामा कांग्रेसले जितेको छ । रामपुर नगरपालिका कांग्रेसले जितेको छ । केही वडामा सूर्य चिन्हले जितेको छ । रम्भामा धेरै मतको फरक छैन । माथागढी सबै वडामा कांग्रेसले जितेको छ । पूर्वखोला भने सबै सूर्य चिन्हले नै जितेको हो ।

प्रतिनिधि सभामा नेकपाबाट उम्मेदवार बनेका दलबहादुर रानाले ३२ हजार ५४९ मत पाएका हुन् । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विजयराज घिमिरेले २३ हजार ९९३ मत पाएका थिए । यहाँ ८५ हजार ९८६ मतदाता हुन् । प्रदेश सभामा भने त्यति धेरै मत फरक छैन ।
हुन त २०५६ को निर्वाचनमा उनै दलबहादुर नेकपा मालेबाट उम्मेदवार बन्दा १ हजार ४०० मत मात्र पाएको इतिहास छ । तर सूर्य चिन्ह लिएर उठ्दा भने राधाकृष्ण कँडेल (२०६४), भद्रबहादुर थापा (२०५१) यही क्षेत्रबाट उम्मेदवार बनेर विजयी भएका हुन् । कार्यकर्ता तहमा निरासा देखियो भने पक्कै पनि सहज हुनेछैन । स्थानीय तहको निर्वाचनमा पनि निस्दीमा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका हुन् । रामपुरमा एमाले र माओवादी (साविक) मिलेर लडेका थिए ।

हुन त स्वयं दलबहादुर रानाले विभिन्न चर्चा परिचर्चा चलेपछि आफ्नो फेसबुकमा लेखेका छन्, ‘केही समयदेखि हाम्रो पार्टी भित्र देखापरेको आन्तरिक बिबादलाई आजको सचिबालयको बैठकमा सम्बन्धित नेताहरुले आत्मालोचना गर्ने,२५ गते स्थायी समितिको बैठक बस्ने,३ जना अध्यक्ष राख्ने बिषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रबक्ता कमरेडबाट जानकारी पाउदा सम्पूर्ण नेता कार्यकर्ता मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएकाछौँ । तर बैठकमा र सम्बन्धित कसै संग पनि छलफल र चर्चा नै नभएको बिषय ‘बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति’ भएको भन्ने समाचार झूठो, भ्रमपूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।’

यसरी लेख्नुमा पनि राजनीतिक हुनसक्छ । जसले अहिले उचालिएका र विरोध गरेका कार्यकर्तालाई मत्थर पारेको हुनसक्छ । तर यस्तो अवस्थामा एउटा सांसदलाई फिर्ता गराएर अर्कोलाई ल्याएर चुनावमा लडाउनु फलामको च्यूरा चपाउनु नै हुनेछ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot