Logo

डेटभन्दा एक महिना अगावै बच्चा जन्माएर कोभिड १९ का कारण सँसारबाट बिदा भइन्



काठमाडौं, ३ जेठ । नेपालमा कोरोना भाइरसबाट पहिलो मृतक महिलाले डेटभन्दा एक महिना अगावै बच्चालाई जन्म दिएको खुलेको छ । उनलाई चिकित्सकले जेठको अन्तिम साता डेट दिएपनि २४ वैशाखमा बच्चालाई जन्म दिएको बुझिएको छ ।

बाह्रबिसे राम्चे घर भएकी २९ वर्षीय महिलालाई २३ वैशाखमा व्यथाले च्यापेपछि आकस्मिक रुपमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो । भोलिपल्ट उनले बच्चालाई जन्म दिएकी थिइन् । नर्मल बच्चा जन्माएकी उनी स्वस्थ नै थिइन् । अस्पतालले २५ वैशाखमा डिस्चार्ज गरेपछि घर फर्किइन् ।

महिलाको बच्चाको न्वारन समेत भएको थिएन । उनलाई अकस्मात ज्वरो आयो । बाह्रबिसेकै अस्पताल लगिइन् । सामान्य औषधी उपचार भयो । तर, महिलालाई स्वास प्रस्वासको गम्भीर समस्या देखियो । उनलाई आकस्मिक रुपमा धुलिखेल अस्पताल लगियो । तर, बाटोमै मृत्यु भयो ।

अस्पताल पुगेपछि २ जेठको राति उनी मृत घोषित भइन् । उनको अवस्थाबारे बुझ्दा लक्षण कोरोना भाइरसको जस्तो लागेपछि परीक्षण गरियो । त्यहाँ पोजेटिभ देखिएपछि टेकु अस्पतालमा नमुना लगियो । जहाँ उनको कोभिड १९ पुष्टि भएको थियो ।

महिलाले बच्चालाई भने जन्म दिन भ्याइन् । उनको चिकित्सकले दिएको डेटमा बच्चा जन्मने गरी प्रतिक्षा हुन्थ्यो भने परिस्थिति अर्कै हुन्थ्यो । महिलाले बच्चालाई जन्म दिएर सँसारबाट बिदा भएकी छिन् ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot