Logo

वी.पी.ले देखाएकै मार्गबाट यो मुलुकको उन्नति र प्रगति सम्भव छ : रामचन्द्र पौडेल



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीले देखाएकै मार्गबाट ‘यो मुलुकको उन्नति र प्रगति, जनताको उद्वार सम्भव रहेको स्पष्ट पारेका छन् । विपी स्मृति दिवसको अवसरमा नेता पौडेलसँग पत्रकार ऋषि धमलाले आज विहान नेपाली रेडियो नेटवर्कको लागि विशेष कुराकानी गरेका छन् । उक्त कुराकानीमा नेता पौडेलले भनेका छन्,‘यो देशका वामपन्थी, दक्षिणपन्थी, मध्यमपन्थी, सबैको लागि वी.पी. एउटा प्रेरणाको स्रोत हुनुभएको छ । वहाँ नेपालको राष्ट्रियताको पक्षमा, नेपालमा लोकतन्त्रको पक्षमा, नेपालमा समाजवादको पक्षमा, बौद्धिक विलक्षणता अहिले प्रभावकारी छ । नेपाली कांग्रेसलाई वी.पी. कै पदचिन्हमा अगाडि बढाउनुपर्छ ।’ प्रस्तुत छ नेता पौडेलसँग धमलाले गरेको कुराकानीको सम्पादित अंश :

आज वी.पी. कोइरालाको स्मृति दिवस । वी.पी. कोइरालाई तपाईले सम्झिरहनु भएको छ ?

वी.पी. कोइराला नेपाली राजनीतिको पथप्रदर्शक, हामी सबैको लागि राष्ट्रको लागि महान् नेता हुनुहुन्थ्यो । वी.पी. कोइरालाले देखाएको बाटोले नै नेपाली राजनीतिक युगलाई अहिले पनि वी.पी. कै विचारले प्रतिनिधित्व गरिरहेको छ । वी.पी.ले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जुन आदर्श लिएर राजनीतिमा लाग्नुभयो, लोकतान्त्रिक समाजवादको विकासलाई जसरी नेपालको राजनीतिमा वहाँले अगाडि बढाउनुभयो । त्यसको प्रभाव आजको राजनीतिमा पनि छ । यो देशका वामपन्थी, दक्षिणपन्थी, मध्यमपन्थी, सबैको लागि वी.पी. एउटा प्रेरणाको स्रोत हुनुभएको छ । वहाँ नेपालको राष्ट्रियताको पक्षमा, नेपालमा लोकतन्त्रको पक्षमा, नेपालमा समाजवादको पक्षमा, बौद्धिक विलक्षणता अहिले प्रभावकारी छ । नेपाली कांग्रेसलाई वी.पी. कै पदचिन्हमा अगाडि बढाउनुपर्छ । कतिपय कमी कमजोरीहरू हुँदाहुँदै पनि वी.पी.ले देखाएकै मार्गबाट यो मुलुकको उन्नति र प्रगति, जनताको उद्धार सम्भव छ ।

वी.पी. ले भन्ने गर्नुहुन्थ्यो, मन्त्री हुँला, ठुलो ठुलो कुर्सीमा बसुँला भनेर राजनीति कहिल्यै नगर्नु । हामी राजनीतिमा लागेको त के को लागि भन्दाखेरि गरिब, निमुखा जनताको लागि । खान नपाएका जनताको लागि पेट भर्नको लागि । हाँस्न नपाएका जनताका ओठमा हाँसो आओस् । केटाकेटीले पढ्न पाऊन् । रोगीलाई औषधी उपचार होओस् भनेर वी.पी.ले भन्नुभएको थियो । तर वी.पी. को सबै सिद्धान्त त तपाईहरूले गमुराहमा पार्नुभयो नि ? समाप्त पार्नुभयो नि ?

वी.पी.को राजनीतिक चिन्तन नै २ ओटा कुराहरूबाट प्रभावित भएको म देख्दछु । वहाँ समाजवादमा कसरी प्रभावित हुनुभयो भन्ने कुरामा २ ओटा घटनालाई हामी लिन सक्छौँ । एउटा वहाँको पिता जीको जुन विपन्न जनताप्रतिको दुःख वेदनाप्रतिको संवेदनशीलता हो, चन्द्रशमशेरलाई त्यहाँको जनताको लागि वहाँका झुत्रा कपडाहरू पठाएर जनताको यो दुर्दशा छ भनेर ध्यानाकर्षण गराउने वहाँको जुन भावुकता थियो, एउटा वहाँको पिताजीबाट पनि वहाँले महिला, गरिब, दलित, विपन्न वर्गलाई जुन करुणा, उद्धारको लागि वहाँको पिताजीमा जुन भाव थियो, त्यसबाट वहाँको समाजवादी दर्शन प्रभावित छ । अर्कोतिर भारतका महात्मा गान्धीबाट पनि वहाँ प्रभावित हुनुभयो । त्यतिखेर माक्र्सवाद र सोभियत संघको उदय भएको थियो । त्यसले पनि अन्तर्राष्ट्रिय रूपमा वहाँलाई प्रभावित गरेको थियो । वहाँको लोकतन्त्रको लडाँइ केबल राजनीतिक स्वतन्त्रतामा मात्रै सिमित थिएन । सामाजिक न्यायमा पनि आभारी थियो । वहाँ समाजका विपन्न वर्गका पक्षमा सहानुभूति, संवेदना वहाँले राख्नुभयो । वहाँले भन्नुभयो, म यो देशका सम्पूर्ण जनताको आर्थिक अवस्थालाई मेरो सरह बनाउन चाहन्छु । सबैको प्राथमिक आवश्यकता पूरा गर्न जोड दिनुभएको थियो । राजाले पनि केही केही कुरा समातेर नारा दिए । वहाँले पनि हरेक व्यक्तिको खाने, लगाउने समस्या, औषधी उपचारको समस्या, पठनपाठनको समस्या समाधान गर्न सक्ने क्षमता हरेक परिवारमा होस्, भन्ने वहाँको भावना थियो । आफु प्रधानमन्त्री भएपछि त्यसै कुरालाई अगाडि बढाउनुभयो । बिर्ता उन्मूलन गर्नुभयो, राजा रजौटा उन्मूलन गर्नुभयो । जंगलको राष्ट्रियकरण गर्नुभयो । सामाजिक न्यायका कदमहरू, आर्थिक दिशामा वहाँका कदमहरू लक्षित भएको देखिन्छ । ०७ सालको क्रान्ति, छोइछिटोको अन्त्य, सबै जातिप्रथाको अन्त्य, श्रमको संस्कार गर्ने संस्कृतिको सुरुवात, हलो जोत्ने काम बाहुनले गर्न हुँदैन भन्थेँ, किन हुँदैन गर्नुपर्छ भनेर श्रमको सम्मान गर्नुपर्छ भन्ने सुरुवात, त्यो वी.पी. ले गर्नुभएको थियो । त्यसो भएको हुनाले वहाँको समाजवादी चिन्तन पनि थियो । वहाँ लोकतन्त्रको कट्टर पक्षधर पनि हुनुहुन्थ्यो । व्यक्तिको स्वतन्त्रता र न्यायको पक्षमा वी.पी. कोइरालाले राष्ट्रको स्वतन्त्रता धेरै ठुलो रिस्क मोलेर नेपाली राष्ट्रियताको सम्बद्र्धनको लागि पनि वी.पी.ले समर्थन गर्नुभएको कुरा पनि हामीलाई थाहा छ ।

वी.पी. बाट टाढिएको कांग्रेस, वी.पी. बिनाको कांग्रेस, कांग्रेसले आज सबै सिद्धान्त छोडेको छ, बिर्सेका छन् वी.पी. लाई, धेरैले भन्छन् ?

सबै सिद्धान्त छोडेको छैन । एउटा कुरा त कतिपय मानिसहरूले आफ्नो आचरणलाई जोगाएर राख्न सकेनन् । व्यक्तिगत, चारित्रिक दोष कत्तिमा उत्पन्न भयो । त्यति हुँदाहुँदै पनि सत्तामा पनि विचलित नहुने, भ्रष्टाचारमा नडुब्ने, असंख्य मानिस नेपाली कांग्रेसभित्रै पाइन्छन् । न्यायको लागि, समानताको लागि, विकासको लागि, वी.पी. कोइरालाले जुन आधारभूत आवश्यकतालाई पूरा गर्न व्यवहारिकता दिनुभएको थियो, हामीले पनि वी.पी. का अनुयायीहरूले २०४७ सालपछि ४८ सालमा सत्तामा आएपछि हामीले पनि त्यही बाटोको अबलम्बन ग¥यौँ । हामीले पनि दूरदराजमा बसेका जनतालाई, गाउँगाउँमा बसेका जनतालाई कसरी सुख सुविधा पु¥याउने भनेर हामी लाग्यौँ, ग्रामीण स्वावलम्बन भनेर हरेक गाउँमा हामीले बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार, जून पूर्वाधार हिजो खडा गरियो, त्यसले आज परिवर्तन आएको छ । पूर्वाधार विकास गरेर आधारभूत आवश्यकता पूरा गर्ने काम हामीले जनताको लागि गरेका छौँ । हामीले समाजमा गरिब, दलित, सारा मानिसहरूका लागि उद्धार, अहिले गाउँगाउँमा अधिकार पुग्ने व्यवस्थाको कल्पना गर्दै हामी आयाँै । अहिलेको समाज हिजोको समाजभन्दा समतामूलक समाज बनेको छ । तर यो सरकार त्यतातिर ध्यान दिइरहेको छैन । अब बेरोजगारीको विकराल समस्या आउँदैछ । भोकमरीको समस्या आउन सक्छ । त्यो समस्याबाट जनतालाई कसरी मुक्त गर्ने ? त्यो कुरामा सरकारको ध्यान छैन ।

सरकार त झगडामा छ । पार्टीभित्र आन्तरिक द्वन्द्व छ, विवाद छ नेपाल कम्युनिष्ट पार्टीभित्र पनि । ०७ सालदेखि ६२÷६३ को आन्दोलनसम्म आइपुग्दा नेपाली कांग्रेसले ३ ओटा क्रान्तिहरू ग¥यो । जेलमा धेरै समय तपाई बस्नुभयो । लोकतन्त्र आयो, तर लोकतन्त्र भनेको हुने खानेको लागि मात्र आयो, गरिब जनताको लागि आएन । आज पैसामा नेताहरू बिक्न थाले । के भन्नुहुन्छ ? 

विकृति आएको छ । केही व्यक्तिहरू आचरण भ्रष्ट भएका छन् । कांग्रेसमा व्यक्तिका विशेष आचरणले गर्दाखेरि समग्र रूपमा भन्ने हो भने जति मानिसले आलोचना गर्दछन्, त्यो रूपमा बिग्रिसकेको छैन । अहिले पनि कांग्रेसमा सत्तामा बसेर, लामो समयसम्म पनि ध्वस्त भएका स्वच्छ छवि भएका मानिसहरू अहिले पनि छन् । समाजमा कृषि क्रान्ति गर्नुपर्छ, समाजमा पर्यटनको विस्तार गर्नुपर्छ । ऊर्जाशक्तिको विकास गरेर समृद्धि बढाउनुपर्छ । गाउँमै बस्ने वातावरण मिलाउनुपर्छ । तराईमा डुबेर मर्ने ठाउँमा छने, तिनलाई बस्ती सुधार कार्यक्रमहरू ल्याउनुप¥यो । स्वास्थ्य सेवा सबै जनतालाई उपलब्ध गराउने, शिक्षा सबैलाई उपलब्ध गराउने, रोजगारी सबैलाई उपलब्ध गराउने, समाजमा न्याय प्रणाली कायम गर्ने, तल्लो वर्गलाई पनि अधिकार दिने, गाउँ–गाउँमा अधिकार पु¥याउने, हामीले संघीयताको स्वरूपलाई त्यही रूपमा बुझेका छौँ ।

अहिले महामारी छ । जनतालाई खोइ राहत पुगेको ?

केन्द्रको सरकारले केही पनि गरेको थिएन । गाउँकै मान्छेले व्यवस्था गरे । किनभने हामीले यो संघीयता गाउँमा नै पु¥याएका थियौँ । गाउँमा नै गाउँपालिका, नगरपालिका गठन गरेका थियौँ । तिनैको माध्यमबाट आज जनताको उद्धार भएको छ , सबैको रेखदेख भएको छ । कमसेकम हिजोका पञ्चायतको कालमा कस्तो थियो, राणाको कालमा कस्तो थियो, अहिले आएर कति फरक भएको छ । एक्लै समाजवाद आउँदैन । कम्युनिष्टले भनेँ जस्तो आउँछ भन्ने केही पनि नआउने, कम्युनिष्टले भनेँ जस्तो सत्तामा पुगेपछि आफ्नै कार्यकर्ता पोसेर नयाँ शोषक वर्ग जन्माउने, त्यो हाम्रो समाजवाद होइन । हाम्रो समाजवाद त सबैलाई क्रमश न्याय दिने खालको हुन्छ । समाजमा विषमता हटाउँदै लैजाने, गरिबी हटाउँदै लैजाने, बेरोजगारी हटाउँदै लग्ने हरेक गाउँको विकास गरेर हरेक गाउँमा न्याय पु¥याउने, हरेक गाउँमा सुविधा पु¥याउने गर्नुपर्छ । एक ठाउँ राजधानीमा मात्रै सुविधा पु¥याएर त हुँदैन । सहरमा मात्र सुविधाले हुँदैन । गाउँमा सुविधा पुग्नुप¥यो भनेर हामीले ग्रामीण स्वावलम्बन भन्यौँ । वी.पी. कोइरालाले जुन समाजवादी आदर्शको कुरा गर्नुभएको थियो, हामीले व्यवहारमा उतार्ने काम यो पुस्ताले पनि नगरेको होइन । तर यही पनि कतिले नराम्रा प्रवृत्तिहरू उठाएर अहिले हामीले अवजश उठाउन परिरहेको छ ।

पद र प्रतिष्ठा भन्दा पनि देश र जनताको लागि राजनीति गर्ने भनेर तपाईहरू भनिरहनु हुन्छ । तर मोजमस्तीमा लागे नेताहरू ? जनताको सेवा/सुविधा, समस्यामा कोही पनि चिन्तित भएनन् ? जनतालाई कसरी सम्पन्न बनाउने ?

सबै चिन्तित छैनन् भन्ने कुरा होइन । कतिपय मान्छेहरू व्यक्तिगत स्वार्थको लागि लागे होलान् । कतिपय मान्छेहरू पैसा कमाएर त्यसको बलमा आफ्नो सत्ता टिकाउने अथवा पैसाको बलमा आफु सत्तामा पुग्ने, पैसाको बलमा राजनीति कब्जा गर्ने, पार्टी कब्जा गर्ने, सत्ता कब्जा गर्ने, कमिशन अरबौको खेलमा लाग्ने कतिपय मान्छेहरू होलान् तर त्यसैको विरुद्ध लडाँइ छ, कांग्रेसभित्र ।

तपाई लड्न सक्नुहुन्छ ? कांग्रेसमा अहिलेको अवस्थमा विवाद छ ?

अहिलेको लडाँइ त्यही नै हो । अहिलेको लडाँइ के हो भने सिद्धान्तको राजनीति गर्ने हो कि महान् मिसन एउटा भिजन दिएर राजनीति अगाडि लग्ने हो कि ? सिद्धान्त र विचारको आधारमा राजनीति गर्ने हो कि ? यसैको द्वन्द्व छ अहिले । त्यही द्वन्द्वबाट नेपाल अगाडि बढ्छ ।

नेपाली कांग्रेसको महाधिवेशन हुन्छ ?

नेपाली कांग्रेसको महाधिवेशन हुनैपर्छ । नभए हाम्रो यो महान् पार्टी, यसलाई विचल्लीमा पार्न पाइँदैन । यसको महाधिवेशन गर्नुपर्छ । सात/आठ महिना हामीसँग जो बाँकी छ, त्यसलाई हामीले क्रियाशील सदस्य गाउँमा पठाइएको छ । पार्टीमा क्रियाशील भएर काम गर्ने सबैलाई क्रियाशील सदस्यता दिइनुपर्छ । लप्पन–छप्पन कसैले गर्नुहुँदैन । काम गर्ने कार्यकर्ताहरू पार्टीका मतदाता बन्छन् र तिनै गाउँदेखि माथि मतदान गर्दागर्दै केन्द्रमा आइपुग्छ । मतदाता नामावली हामीले शुद्ध रूपमा तयार गर्नसक्यौँ भनेदेखि चुनाव २ महिनामा सम्पन्न गर्न सकिन्छ ।

तपाईहरूले भन्नुभयो, विभागहरू गठन गर्नुको औचित्य छैन ? तर सभापतिले त धमाधम विभाग गठन गर्नुभएको छ नि ?

त्यही भनिराखेको छु मैले । अहिले महाधिवेशनमा लाग्ने हो । विभाग बनाएर मान्छेलाई पद बाँडेर हुँदैन । यो पार्टीको उद्देश्य कहाँ हो, एकातिर पार्टीको उद्देश्य छ, एकातिर पार्टीको झलुंगो छ । यो तमाशा गरेर हुँदैन । अहिले त पार्टीको महाधिवेशनमा सबै जुटेर लाग्ने हो । तलदेखि माथिसम्म राम्रोसँग क्रियाशील सदस्य बनाएर गाउँगाउँमा द¥हो कमिटिहरू निर्माण गरेर वडा वडादेखि नै कमिटिहरू निर्माण सशक्त रूपमा बनाएर त्यसैको जगमा अडिने केन्द्रिय नेतृत्वले अधिवेशन सम्पन्न गर्नुपर्छ । तलदेखि माथिसम्म जुन पार्टीको संरचना बनेको छ, यसैलाई कार्यान्वयनमा ल्याउनुपर्छ । इमान्दारिता त्यहाँनिर हो । यहाँ छल र षड्यन्त्र गरेर पार्टी जसरी हुन्छ, आफ्नै कब्जामा राख्ने, त्यस्तो गर्ने हो ? त्यसो गर्ने होइन अब । देशले कस्तो माग गरेको छ, जनताकाmे माग के हो, कम्युनिष्ट आन्दोलनको सामना गर्नका लागि कस्तो प्रणाली जनताले खोजेका छन्, भरोसा केन्द्र नेपाली कांग्रेस त्यतातिर जानुपर्छ । त्यसैले यो पार्टीको भविष्य सुरक्षित हुनुपर्छ । त्यसकारण हाम्रो अधिवेशन सम्पन्न गर्नुपर्छ । हामी अधिवेशनमुखी हुने हो । अरूतिर लागेर अन्ततिर ध्यान मोड्न मिल्दैन । यो बेइमानी हुन्छ । त्यो बेइमानी कसैले नगरोस् । लोभलालचमा कोही पनि नलागून् साथीहरू । एकछिनको लोभले गर्दाखेरि सारा भविष्य बर्बाद होला, पार्टीको भविष्य बर्बाद होला, देशको भविष्य बर्बाद होला । त्यता सबैले सोच्नुपर्छ ।

तपाईले बोलाएको बैठकमा आउनुभएन कृष्णप्रसाद सिटौला ?

उहाँको अलग मेसो होला । शेरबहादुरलाई पनि समर्थन गर्नुभयो भनेर म आक्षेप लगाउन चाहन्न । अहिलेको अवस्थामा पार्टीलाई मुक्ति दिनुपर्छ । पार्टीमा परिवर्तन आउनुपर्छ भन्ने साथीहरू त्यहाँ पनि छन् । सिटौलाजीलाई परिवर्तनको बाटोमा प्रेरणा दिइरहेका छन् । त्यसैले उहाँ उतै जानुभयो भनेर म मान्न तयार छैन ।

शेरबहादुर देउवाले जसरी पनि म पार्टी सभापति बन्नुपर्छ भनेर रणनीति बनाइरहनु भएको छ । उहाँले विभाग गठन गर्ने मेरो अधिकार हो, त्यसमा किन हस्तक्षेप गर्ने ? विधानले दिएको कुरा मैले गर्न नपाउने ? भन्दै हुुनुहुन्छ ।

जसरी पनि मै हुनुपर्छ भन्ने त्यो समाजविरोधी प्रवृत्ति हो । प्रजातन्त्रविरोधी प्रवृत्तिसँग लडाँइ म लड्छु ।

पार्टी सभापतिले आफ्नो अधिकार प्रयोग गर्न नपाउने हुन्छ ? विभाग गठन गर्न नपाउने हुन्छ ?

अधिकार त समयभित्र नै गर्नुपथ्र्यो । अहिले आएर गर्ने हो ? अहिले अर्को महाधिवेशन आइसक्यो, ४ वर्षको अवधि सकिएर पनि आज ५ महिना भईसक्यो, अहिले आएर एकातिरको आँधी अर्कातिरको झलुंगो, यसरी अहिले बाजा बजाउने बेला हो यो ? विभागको बाजा बजाएर मान्छेहरूलाई रमितामा लगाउने र कांग्रेसलाई खाल्डोतिर धकेल्ने कुरा हो यो ?



प्रतिक्रिया दिनुहोस्

Screenshot