Logo

प्रसाईको टिप्पणी : के दिनमा हामीले कम्युनिष्टलाई भोट हालेछौँ भन्नेमा जनता पुगेका छन् (भिडिओसहित)



बि एण्ड सी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले नेकपाका दुई जना अध्यक्ष मिल्दा नै देश र जनताको भलाई हुने बताएका छन् । आज नेकपाभित्रको आन्तरिक झगडाका कारण जनता के दिनमा कम्युनिष्टलाई भोट हालेछौं भन्नेमा पुगेको पनि उनको तर्क छ । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपामा सचिवालयका पाँच जना नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल र वामदेव गौतम नै मुख्य नेता भएकोले पाँच जना बसेर सहमति गर्दा सबै कुरा मिल्ने दाबी गरे । र, पाँच जनाबाहेक नेकपाका अन्य नेताहरुले यी पाँच जनाले भनेको कुरा मान्ने बताउँदै अरु नेताहरुलाई ढ्याप ढ्यापेको संज्ञा दिएपनि दिए । प्रस्तुत छ प्रसाईसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईका हस्पिटलले कोरोना संक्रमण विरामीको उपचार गरिरहेको छ ?

गरिरहेको छ ।

कति जना ग¥यो, अहिलेसम्म ?

कोरोनाको नै भनेर गरेको छैन तर विरामीहरू सबैमा लगभग लगभग कोरोना हुन थालिरहेको छ ।

कोरोनाको विरामीको उपचार गर्नमा किन चाहिरहेको छैन, निजी अस्पतालले, मलाई बताउनुस् त प्रसाईजी ?

हामीले कोरोनाको हस्पिटल बनाऔँ भनेर सबैभन्दा पहिले मैले प्रस्ताव गरेको हो । प्रेस विज्ञप्ति निकालेर नै मैले सञ्चारमाध्यममा भनेको थिएँ । तर अब सरकारले नै लिन चाहेन । शशंकित मान्छेहरू आए भने मेची र वि.पी.के.आइ.एच.एसमा तपाई विरामीहरूलाई पठाईदिनुस् भनेर हाम्रो प्रदेश नम्बर १ का स्वास्थ्यमन्त्री, सामाजिक सुरक्षामन्त्री उहाँले भन्नुभएको थियो । हामीले त्यहीअनुसार गरेका छौँ । पि.सि.आर टेस्ट हामी आफै राख्छौँ भन्दाखेरि सरकारले स्वीकृति दिएन ।

भेन्टिलेटर किन्ने सरकारसँग बजेट छैन ?

वडाध्यक्षले गाडी किन्ने, मेयरले डोजर बटुलेर गाडी किन्ने सबैले किनेर सके । अब आउने साल कसरी तलब खुवाउँछन् ?

नेपाल कम्युनिष्ट पार्टीमा एकताको सम्भावना कति छ ? तपाई त अब प्रचण्ड र के.पी. शर्मा ओलीलाई मिलाउन लागेको मान्छे हो नि ?

म राजनीति गर्ने मान्छे होइन । मलाई राजनीतिमा स्वार्थ छैन । मलाई अरू नेताहरूको जस्तो सांसद पाऔँला, मन्त्री पाऔँला, भोली राजदूत पाऔँला भन्ने आश होइन । कुरा के हो भन्दाखेरि जनसेना निर्माण गराएर यो देशमा गणतन्त्र अध्यक्ष प्रचण्डले ल्याएकै हो । यो कुरा बुझ्न जरुरी छ ।

गणतन्त्र ल्याएर नेताहरूले भोगविलासी जिन्दगी बिताए । जनताको लागि केही गरेनन् ?

गणतन्त्र प्रचण्डले ल्याएकै हो । यो पल्टको चुनावमा प्रधानमन्त्री के.पी. ओली हाम्रो हजुरबुवाले उखानटुक्का जे भनेर प्रचण्ड बहुमत के.पी. ओलीको बोलीवचनबाट आएकै हो । अध्यक्ष प्रचण्डले के भन्नुहुन्थ्यो भने राजनीतिमा असम्भव केही पनि छैन । सम्भव नै सम्भवको खेल हो राजनीति भनेर भन्नुभएको थियो । प्रचण्डका सारथी कस्ता छन्, के का लागि कस्ता सारथीले प्रचण्डलाई साथ दिएको छ ? प्रधानमन्त्री के.पी. ओली जो हाम्रो हजुरबुवा हुनुहुन्छ, कस्ता मान्छे उहाँले साथमा लिएर हिँड्नभएको छ ? प्रचण्ड र के.पी. ओली मिल्दाखेरि उनीहरूलाई घाटा हुने भएर उनीहरू मिल्न दिँदैनन् । नाफा हुने भयो भने मिल्न दिन्छन् । घाटा र नाफाको कुरा छ यहाँ । दाहालले गणतन्त्र ल्याएर नाम लेखे, पृथ्वीनारायणले एकीकरण गरेर नाम लेखे । पार्टीलाई एक बनाएर ठुलो पार्टी बनाएर ५ वर्ष देश हाँकेर के.पी. ओली तपाई तेस्रो नाम लेख्ने व्यक्ति हुनुहोस् भन्ने व्यक्ति म हो । मलाई राजदूत दिनुहोस् भनेर मैले त्यहाँ वार्ता पनि गराएको थिइनँ ।

होइन तपाईले राजदूत, सासंदको लागि लविङ्ग नगराए पनि पैसा कमाउनुपर्छ भन्ने कुरा गर्नुभयो होला नि त ?

पैसा कमाउने त काम गरेर मैले पैसा कमाउन पाउँदिन ? हरेक नागरिक विहान उठेर पैसा कमाउनेतिरै लाग्छ । विकासकै लागि लाग्छ ।

पार्टी अध्यक्ष प्रचण्डलाई बनाउनुस् भन्ने तपाईको भनाई हो तर के.पी. शर्मा ओली मान्नुभएन ?

पार्टी अध्यक्ष दुई जना भईसकेपछि कार्यकारी अधिकार हुँदैन । कार्यकारी भनेको के हो ? सहमति गरेर दुई जना मिल्नुपर्छ । सहमतिमा भनेको छ, ५ जना टाउके बस्नुपर्छ । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, के.पी. ओली र प्रचण्ड बस्नुपर्छ । सचिवालय टिम बसेर यति होइन कम्युनिष्ट पार्टी भनेको ? अरू त ढ्याप ढ्याप न हो, ताली बजाउने न हो । यति बसेर आजका मितिबाट प्रचण्डलाई अध्यक्ष भनेर दिँदाखेरि सकिने कुरा छ त । कोरोनाका बेलामा के को महाधिवेशन ? किन महाधिवेशन गर्नुप¥यो ?

त्यसोभए के.पी. शर्मा ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर अध्यक्ष प्रचण्डलाई बनाउनुप¥यो ?

राजीनामा दिनुपरेन । सचिवालय मात्र त रहेछ पार्टी भनेको । अरू त को देखियो यहाँ ? सचिवालय बसेर सरक्कसित एउटा सहमतिमा हुन्छ । अब व्रतबन्धमा मान्छे भेला हुन छोडिसके । यहाँ मलामी जान छोडिसके मान्छे । महाधिवेशनमा मान्छे कोही भेला हुन्छ ? भरे यिनै ७ जनाले गर्नुपर्छ । यसमा प्रधानमन्त्री र प्रचण्डको बीचमा सहमति भएर २ जनाको विश्वासको वातावरण हुनुपर्छ । दुई जना मात्र बसेर सहमति गरेर सकिने कुरा हो यो ।

कुरा मिल्छ कि मिल्दैन, सम्भावना के छ ?

कुरा नमिले त उपाय नै छैन । यो ४/५ दिनभित्रमा प्रधानमन्त्रीले पनि केही न केही ल्याउनुहुन्छ । पार्टी अध्यक्षले पनि ल्याउनुहुन्छ । २ जना भएर गर्नुहुन्छ । २ जना मिल्नुहोस् । जनता पुरै आक्रान्त भएका छन् । के दिनमा हामीले कम्युनिष्टलाई भोट हालेछौँ भन्नेमा जनता पुगेका छन् । त्यसले गर्दाखेरि सहमति गरेर अघि बढ्नुस् भन्ने मेरो सुझाव हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot