Logo

हरिबोलको खुलासा : ‘त्यस्तै पर्दा ओलीले अध्यक्ष पद छोड्ने स्थिति मैले पाएको थिएँ’



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टीभित्रको विवाद हल गर्नको लागि आफूले एकताको पक्षमा पहल गरेको स्पष्ट पार्दै आफू कुनैपनि गुटमा नरहेको जिकिर गरेका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आगामी महाधिवेशनसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुनपर्नेगरि सहमति भएको पनि स्पष्ट पारे । उनले चैत्रमा नै महाधिवेशन हुनेपनि विश्वास दिलाए । तपाईले के.पी. शर्मा ओलीलाई साथ दिनुभयो र प्रचण्डलाई धोका दिनुभयो अरे ? भन्ने पत्रकार धमलाको प्रश्नमा गजुरेलले भनेका छन्,-‘मैले एकताको लागि पहल गरेको हो, कसैलाई साथ दिएको, कसैलाई धोका दिएको होइन । प्रचण्डले पनि एकताको लागि पहल गर्दा अलिकति पुग्दैन कि भनेर मैले प्रधानमन्त्रीलाई टाइम लिएर भेटेको हो । त्यस्तै पर्दा उहाँले अध्यक्ष पद छोड्ने स्थिति मैले पाएको थिएँ ।’ प्रस्तुत छ गजुरेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

पार्टीको विवादहरू सबै मिलेको हो ? सबै नेताहरू एक भएका हुन् ?

एकताको विकल्प छैन भनेर बोध गरेर जानुपर्छ भनेर उहाँहरूले सहमति गर्नुभएको हो । सबै समस्याहरू हल भईसकेका छैनन् । बैठकमा प्रस्ताव पेश हुन्छ । कार्यदलको सुझाव अनुसारको २ ओटा अध्यक्षले त्यसलाई फाइनल गरेर त्यो प्रस्ताव स्थायी समितिमा पेश गर्नुहुन्छ, छलफल भएपछि टुंगिन्छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले दुबै पदबाट राजीनामा दिन नपर्ने अवस्था सिर्जना भयो ?

त्यसैमा सहमति भएको जस्तो मैले अनुभव गरेको छु ।

कति समयको लागि ?

महाधिवेशनमा गएर नयाँ प्रक्रियामा जाने भन्ने कुरा छ ।

महाधिवेशन हुन्छ ? यस्तो बेला छ, देशमा ?

चैतसम्म हुन्छ ।

तपाईलाई विश्वास छ ? अर्को चैतमा हुन्छ भन्छन् मान्छेहरूले ?

कोरोना पनि त यही रेटमा जाँदैन नि त ।

समस्या त छ नि त । कोरोनाको संक्रमण त ह्वात्तै बढेको छ ।

समस्या त छ तर सरकारले त्यसलाई अलि कडाइका साथ पोलिसीहरू पनि बनाएको छ । मलाई लाग्छ, त्यो बेलासम्म धेरै नियन्त्रण हुन्छ ।

के.पी. शर्मा ओलीले बाजी मार्नुभयो ?

पार्टी एकता भयो भन्ने कुरा सबैको जितको कुरा हो । कसैको हार र कसैको जितको कुरा होइन ।

दुबै पदमा यथावत राख्नको लागि प्रचण्ड के कारणले तयार हुनुभयो ?

नेकपा विभाजित भयो भने यसको असर समग्रमा नै यसको असर पर्छ । यसको दुरगामी नकारात्मक असर पर्ने हुनाले यसलाई गम्भीरतापूर्वक दुई वटै नेताले लिनुभयो र प्रचण्डले पनि त्यही रूपमा लिएर एकताको लागि आफुले कैयौँ अडानहरूबाट पछि हट्नुभयो ।

अहिले भएका मन्त्रीहरूले जनताको चाहना अनुसार काम गरेनन् भन्ने गुनासो छ नि ??

काम गरेनन् भनेर कसरी भन्ने के ? कसले कति गरेको थियो, त्यो पनि हामीले देखिरहेका छौँ । पार्टी र सरकारको बीचमा राम्रो समन्वय भएन भन्ने मुख्य कुरा हो । त्यो भयो भने जो जो मन्त्री बनाए पनि सफल हुँदैनन्, त्यो कुरा हो । पार्टीको सुझाव अनुसार सरकार चल्यो र पार्टीले त्यसै अनुसार सरकारलाई सहयोग गरेको छ भने समन्वय हुने कुरा हो । होइन भने मन्त्री त जसलाई बनाए पनि सफल हुँदैनन् नि ।

अहिलेको निष्कर्ष पार्टीको विवाद सदाको लागि अन्त्य नै होस् भन्ने नै हो ?

सदाको लागि अन्त्य हुने भन्ने हुँदैन किनभने विवाद, बहसलाई नराम्रो रूपमा हेर्नुभन्दा पनि पार्टीभित्र बहस र छलफल हुनु राम्रो कुरा हो ।

पदको लागि बहस भइरहेको छ, तपाईको पार्टीभित्र ?

त्यस्तो देखिरहेको छ । बाहिर जनतामा पदको लागि लडेको देखिरहेको छ तर यो विचारको बहस हो । कार्ययोजनाका बारेमा पनि त त्यहाँ बहस छन् नि त ।

त्यसोभए स्थायी समितिको बैठक हुन्छ ?

हुन्छ, हुनैपर्छ किनभने स्थायी समितिको बैठक बोलाएको छ, त्यो टुंगिएकै छैन । त्यो बैठक टुंगिनु त पर्छ ।

तर विवाद त स्थायी समितिको बैठकबाट सुरु भएको हो नि ?

विवाद त पहिलेदेखि नै थियो । निरन्तर विवाद नै छ ।

प्रधानमन्त्रीको राजीनामा त स्थायी समितिले माग्यो नि त ?

स्थायी समितिले मागेन किनभने स्थायी समितिले निर्णय कहाँ गरेको छ र ? कतिपय नेताहरूले माग्नुभयो ।

तर तपाईहरूको रणनीति त त्यही थियो नि त । प्रधानमन्त्रीलाई जसरी पनि हटाउने ?

मेरो थिएन । जसरी हुन्छ हटाउने भन्ने कुरा मेरो थिएन । पदबाट हटाउने भन्ने कुरामा मेरो असहमति नै हो । प्रधानमन्त्रीले मदन भण्डारीको स्मृति दिवसमा केही कटुता बोलिदिएको हुनाले केही कुरा उठेको थियो । त्यसले गर्दा राजीनामाको माग पनि उठ्यो । त्यसमा म सहमत होइन ।

तपाई कतातिर हो, यतिखेर ?

म एकताको पक्षतिर हो ।

तपाईले के.पी. शर्मा ओलीलाई साथ दिनुभयो, प्रचण्डलाई धोका दिनुभयो ?

मैले एकताको लागि पहल गरेको हो, कसैलाई साथ दिएको, कसैलाई धोका दिएको होइन । प्रचण्डले पनि एकताको लागि पहल गर्दा अलिकति पुग्दैन कि भनेर मैले प्रधानमन्त्रीलाई टाइम लिएर भेटेको हो । त्यस्तै पर्दा उहाँले अध्यक्ष पद छोड्ने स्थिति मैले पाएको थिएँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot