Logo

बामदेवले राजीनामा मागेपछि ओलीद्वारा बोल्दा बोल्दै हस्तक्षेप, बालुवाटार रुष्ट



काठमाडौं, ९ चैत्र । नेकपा एमालेको शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा केहीबेर विवाद भयो । कारण थियो प्रभावशाली नेता बामदेव गौतम पुगेपछि ओलीको सिधै राजीनामा माग्नु । गौतमले एमालेलाई जोगाउनका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए ।

प्रतिनिधि सभा विघटन गराउने ५ पौषको कदम देखि २८ फागुनमा पार्टीसम्बन्धी निर्णयहरुको विरोध गर्दै गौतमले राजीनामा मागेपछि ओली रुष्ट भए । उनले बीचैमा हस्तक्षेप गरी गौतमलाई बोल्नबाट रोके । अब भयो पुग्यो भनेपछि गौतम धन्यवाद भनी निस्किएका थिए ।

गौतमले राजीनामा मात्र मागेनन् आफूलाई पार्टीको ह्वीप नलाग्ने समेत तर्क गरेका थिए । राष्ट्रिय सभाका सांसद गौतम मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित सांसद हुन् । उनले यसकारण पनि ह्वीप नलाग्ने तर्क गरेका हुन् ।

गौतम रुष्ट भई बालुवाटारबाट निस्किएका थिए । उनी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएनन् ।

ओली भने गौतमप्रति रुष्ट भएका छन् । उनले अब गौतमसँग सहकार्य नहुने निकटस्थलाई बताएको बुझिएको छ । संसदीय दलको बैठकमा सबैका सामु राजीनामा मागेकोमा ओली असन्तुष्ट भएका हुन् । यसअघि छुट्टै भेटमा पनि गौतमले राजीनामा मागेका थिए । बालुवाटार रुष्ट भएपछि गौतम पनि आफ्नै रणनीति बनाउन लागेका छन् ।

गौतमले आफूले ओलीसँग आत्मसमर्पण नगरेको स्पष्ट पारेका छन् । उनले अब ओलीसँग आवश्यक परे संघर्ष गर्ने रणनीति बनाएको बुझिएको छ । बालुवाटार गौतमसँग रुष्ट भएकाले अब उनी अर्को कित्तासँग नजिकिने सम्भावना बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot