Logo

सार्वभौम संसदले नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताएका छन् । प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिनु नहुनेमा समेत जोड दिएका हुन्।

“हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ ।” उनले भने,‘हामी सुशासन दिन सक्छौं कि सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं रु यो संसद हाम्रो परीक्षाको केन्द्र हो । जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।”

हजारौं शहीद, वेपत्ता, जेलनेल सहेका र घाइते अपांग नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट समावेशी संसद बन्न सफल भएकोतर्फ इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद बनेको खुसी व्यक्त गरे। उनको भनाई थियो, “विविधतामा एकता नै हाम्रो शक्ति हो । बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधामिक र बहुभौगौलिक विशेषता भएको यो देशमा विविधताका सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा ग¥र्यौं भने विभाजनतिर जान्छौं ।”

फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भएपनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकोले सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । “मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौं ।” उनले भने, “भर्खर हामी जनताका बीचबाट आएका हौं । हामीलाई समस्याहरु केलाएर बस्ने छूट छैन, समाधानको सूत्र खोज्नु छ र समाधानतिर जानु छ ।”

सांसदहरुको मनमा नयाँ केही गर्ने आवेग र हुटुहुटी भएको बताउँदै वहाँले अब सबै मिलेर ‘केही हुँदैन’ भन्ने हीनभावनका ठाउँमा आशा र उत्साह जगाउनु पर्ने बताए । “राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिमा केन्द्रित गर्नु छ । विभेद र बहिस्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ ।” उनले भने,“आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ ।”

व्यवस्थापिक संसद सार्थक संवादको थलो बन्नेमा आशा व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले सहमति र मतभेदहरु पनि मर्यादापूर्ण हुने विश्वास व्यक्त गरे । “कम्तिमा मेरो प्रयास र अपेक्षा यही हुनेछ ।” उनले बीट मार्दै भने, “यो सम्मानित र सार्वभौम संसद नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ भन्ने विश्वासका साथ सबै माननीय सदस्यहरुलाई फेरि एकपटक बधाई दिँदै विदा हुन्छु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot