Logo

एमाले नेतालाई धमलाको प्रश्न– सुवास नेम्वाङलाई किन बलिको बोको बनाउँदै हुनुहुन्छ ?



काठमाडौं, २१ फागुन । नेकपा एमालेका नेता गुरु बरालले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङभन्दा उत्तम विकल्प नभएको दाबी गरेका छन् ।
‘कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पाको हुनुहुन्छ । उहाँको निष्ठामा शंका छैन । तर संविधान निर्माता अनि निष्पक्ष भूमिकाका कारण राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङभन्दा उत्तम विकल्प अर्को देखिँदैन । विजयका लागि उपयुक्त उम्मेदवार उहाँ नै हो । हामीले पहिलो राष्ट्रपति मधेसी र दोस्रो राष्ट्रपति महिला बनायौं । तेस्रो राष्ट्रपति जनजातिलाई बनाउँदा राष्ट्रिय जनमतको पनि सम्मान हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बरालले भने ।
राष्ट्रपति दलभन्दा माथि उठेको प्रबन्ध भएकाले नेम्वाङ विजयी हुने आधार रहेको दाबी पनि उनले गरे । बरालले थपे, ‘प्रधानमन्त्रीको जस्तो खुला मतदान भएको भए मतभारको हिसाबमा आठ दलीय गठबन्धनले जित्ने अवस्था हुन्थ्यो होला । तर राष्ट्रपति दलभन्दा माथि उठेको प्रबन्ध हो । मतदाताले दलीय अनुशासनभन्दा माथि उठेर विवेक प्रयोग गर्छन् ।’
अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाबमा आठ दलीय गठबन्धन बनेको आरोप पनि उनले लगाए । बरालले भने, ‘यो गठबन्धनको न्यूनतम साझा कार्यक्रम नै छैन । यो गठबन्धनमा स्वदेशी मन छैन । राष्ट्रिय भावना छैन । समृद्धिको कुरा छैन । यसले राष्ट्रियताको पक्षपोषण गर्दैन । यो अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाबमा बनेको हो । राष्ट्रपति विदेशीको स्वार्थमा बनाउने वा स्वदेशी हितको संरक्षणका लागि बनाउने ?’
मुस्ताङमा बौद्ध विश्वविद्यालय बनाउने पैसा एमसीसी अन्तर्गतको भएको दाबी पनि उनले गरे । बरालले भने, ‘अमेरिका भारत हुँदै नेपालमार्फत उत्तरी छिमेकी देश चीन प्रवेश गर्ने तयारीमा छ । चीनको सीमावर्ती क्षेत्रमा बनाइन लागेको बौद्ध विश्वविद्यालयमा अमेरिकी लगानी छ । त्यसमा भारतलाई माध्यम बनाइएको छ । एमसीसीका लागि सपोर्ट गरिने पैसा लुकेर आएको छ । त्यहाँ न जनसंख्या छ, न आवश्यकता छ । स्थानीय पालिकाको दुरुपयोग भएको छ । बुद्धको नाममा नेपालमाथि गिद्देदृष्टि परेको छ ।’
तपाईंहरु चीनको किन एकोहोरो पक्षपोषण गर्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा बरालले भने, ‘मैले कसैको आलोचना वा समर्थन गरेको होइन, यो रियालिटी हो । कुनै पनि देशले आफ्नो देशको अस्मिता वा राष्ट्रियतामाथि आँच आउने कुरा गरे सरकारले प्रतिवाद गर्नुपर्छ । अहिले चीनमाथि टिप्पणी गर्नुपर्ने कुनै आवश्यकता छैन । उसले औपचारिक रुपमा त्यस्ता गतिविधि गरेको छैन । अहिले भारत र अमेरिकाको गतिविधि त खुलेआम भइरहेको छ नि ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot