Logo

मुसुक्क हाँस्दै गला जोडेर फागु खेल्दा…



चन्द्र किशोर–
मधेसका खेत, खलिहान, आँगनमा ऋतुराज वसन्तको शुभ-आगमन भइसकेको छ । किसानहरुले नयाँ उत्पादन भित्र्याइसकेका छन् । त्यसै सेरोफेरोमा फागुको खुसियाली थपिएको छ । मधेसको फागुको आफ्नै मौलिकता छन् । धनी, गरिब वा वर्ग नछुट्याईकन यसले समाजलाई जोडेको छ । एक अर्काको अस्तित्वको स्वीकार गरेको छ ।
मन फुकाएर एकअर्कामा आलिंगन गर्दै उत्साह र उमंगका साथ मनाइने यो पर्वको महत्त्व लोकभाकामा पनि प्रस्फुटित भएको छ । तर अहिले ती लोकगीत हराउँदै डिजेइङ हुन थालेका छन् । रेमिट्यान्स इकोनोमीका आत्मीयताभन्दा आडम्बर पनि देखिन थालेपछि होली मिलन कार्यक्रम वा साहित्यिक सिर्जनामार्फत त्यसलाई चिर्ने कोसिस पनि भइरहेकै छन् ।
वसन्तपञ्चमीदेखि फागुसम्म प्रकृतिमा बेग्लै मिठास भरिन्छ । हामीबीच जे जति असहमति छन्, मनमा गाँठा परेका छन्, तिनलाई हटाउने माध्यम पनि फागु नै हो । हाम्रा पुर्खाले फागु पर्वलाई तनावमुक्तिका लागि पनि यसको उपयोग गर्दै आए । एक अर्को अस्तित्व स्वीकार गर्दै हिजोका त्रुटि महसुस गर्दै मुसुक्क हाँस्दा र गला जोड्दा अनि फागु खेल्दा मनभेद तोडिन्छ र मतभेद पनि रहँदैन । फागुले सम्बन्धको नवीकरण गरेर जीवनमा ताजापन ल्याउँछ
होलीको अवसरमा मिथिला परिक्रमा हुँदै आएको छ । यसै क्रममा नेपाल र भारतका हजारौं श्रद्धालु जनकपुर आइपुगेका छन् । तिनले आज जनकपुरको रंगभूमि मैदानमा फागु मनाउँदै छन् । दुई देशबीचको सरहदले यसलाई छेकेको छैन । जनस्तरको सांस्कृतिक सामीप्यतालाई रोकेको छैन । मधेसको रंग पहाडतिर पनि पुगेको छ । राजनीतिक नाराको कोलाहलले विभाजित समाजलाई फागुजस्ता सांस्कृतिक विरासतले निरन्तर जोडिरहेकै छन् ।
वरिष्ठ पत्रकार चन्द्र किशोरसँग नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित

 



प्रतिक्रिया दिनुहोस्

Screenshot