Logo

टिकटकर बिशेषज्ञ तथा राजनीतिका मौसमविद नेताहरूलाई मेरो प्रश्न : देशको सुरक्षा ठूलो कि टिकटक ?



प्रदिप यादव-नेपाल सरकारले चीनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’ लाई पचेको छैन । किनकी टिकटक कै कारण केही नेताहरू रातोरात जन्मेका छन्। अहिले टिकटक बन्द हुदाँ ती नेताहरूलाई निन्द्रानै हराम भएको छ ।यहाँ सम्म कि समाजसेवाको देखावटी खोल ओढेकाहरुले पनि रोइलो गरिरहेका छन् ।साईबर सेना बनाएर सस्तो लोकप्रियता कमाउने उनिहरूमा रूवाबासी चलेको छ।

टिकटक बन्द गर्ने सरकारको निर्णयले फेक आइडी खोलेर लोकप्रिय कमाउने टिकटक बिशेषज्ञ एवं राजनीतिक मौसमविदहरूको सपना चकनाचूर भएको छ ।केहि राजनीतिक मौसमविदहरू जसरी मौसम परिवर्तन भएसंगै मान्छेले आफनो काम फेर्छ त्यसरी नै सस्तो लोकप्रियतामा लागेका ती नेताहरू अहिले बोली फेर्दै रुवाबासी गरिरहेका छन् ।

सरकारको तर्फबाट तिहारको ‘सर्प्राइज’ उपहार स्वरूप आएको टिकटकमाथिको प्रतिबन्धले टिकटकर नेताहरूको चिन्ता असाध्यै बढेको छ। किनभने लामो समयदेखि टिकटक मार्फत भ्रम सृजना गरेर आम नेपाली जनतालाई गुमराहमा पारिरहेका उनीहरूलाई यो निर्णयले ठूलो धक्का लागेको छ ।टिकटक प्रतिबन्धसँगै उनीहरूको सस्तो लोकप्रियता कमाउने माध्यममाथि नै सरकारले अंकुश लगाइदिएको छ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय उपयुक्त मात्र छैन, समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्वपूर्णपनि छ ।किनभने पछिल्लो समय सामाजिक सञ्जाललाई दुरुपयोग गरेर नेपालमा बसोबास गर्ने विभिन्न समुदाय, धर्म, संस्कृति र भेषभुषाका व्यक्तिहरूबिचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पु¥याउने काम भइरहेको सर्वविदितै छ । र यसमा सामाजिक सञ्जालहरूमध्ये पनि टिकटकको सबैभन्दा ठूलो भूमिका छ ।
उदाहरणका लागि केही समय अगाडि देशका विभिन्न स्थानमा भएका धार्मिक सद्भाव बिथोल्ने दुष्प्रयासलाई नै हेरौँ । त्यो बेला हिंसात्मक भाषण दिनेदेखि एक अर्काको धर्ममाथि आँच पुग्ने किसिमका अभिव्यक्ति दिने काम लगायतका अधिकांश हर्कतहरु टिकटककै माध्यमबाट भएका थिए ।यद्यपि यस विषयमा टिकटकर नेताहरूले कहिल्यै बोलेको पाइएको छैन । किनभने उनीहरूलाई देशको सामाजिक र धार्मिक सद्भाव भन्दा पनि आफ्नो सस्तो लोकप्रियता नै प्यारो जस्तो देखियो ।

देशमा टिकटक मार्फत हिंसा फैलिरहँदा नबोल्नेहरू आज प्रतिबन्ध लागेपछि अभिव्यक्तिमाथि अभिव्यक्ति दिइरहेका छन्, नियमनका कुरा गरिरहेका छन् । त्यही कारणले समाजभित्र विसङ्गती, विकृति र अराजकता फैलाउने प्रवृत्तिलाई नियन्त्रण तथा नियमन गर्ने मनसायबाट प्रेरित भएर टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय सोह्रै आना जायज छ । मुलुकको सुरक्षा जोखिममा हुँदा सरकारले जुनसुकै बेला टिकटक जस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सक्नुपर्छ ।

त्यसमाथि टिकटक जस्ता सामाजिक सञ्जाल मार्फत बर्षेनी अर्बौँ रुपैयाँ देशबाट बाहिर गइरहेको छ । टिकटकमा लाइभ बसेर गिफ्ट किन्ने र दिने परिपाटीका कारण नेपालीले दैनिक लाखौँ रुपैयाँ खर्चिरहेका छन् भने लाइक, कमेन्ट र फ्लोअर्सका लागि युवाहरू अश्लीलता र आफ्नै ज्यानै जाने किसिमको जोखिमपूर्ण काम समेत गरिरहेका छन् । टिकटक मार्फत हुने ठगी, चरित्रहत्या, ब्ल्याकमेलिङ लगायत अन्य आपराधिक गतिविधिहरूको नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीको चाङ नै थुप्रिएको छ । एक तथ्याङ्कअनुसार पछिल्लो समय साइबर ब्युरोमा परेको उजुरीमध्ये अधिकांश टिकटकसँगै सम्बन्धित छन् । यसले पनि टिकटक हाम्रो समाज र देशका लागि कति घातक छ भन्ने कुरालाई प्रस्ट पार्छ ।

त्यस्तै कलिलो उमेर समुहका युवायुवतीहरू शिक्षा लिनुको साटो टिकटक स्टार बन्ने लोभमा आफनो पढाई नै चौपट गरिरहेका थिए। टिकटकका कारण आम नेपाली सर्वसाधारणको गोपनीयता समेत जोखिममा छ । चिनिया प्राविधिक कम्पनी बाइटड्यान्सको स्वामित्वमा रहेको टिकटकले नेपाली नागरिकबाट जम्मा गर्ने डेटालाई समेत दुरुपयोग गर्दै आएको छ ।

यस्तै खालका सुरक्षा जोखिमकै कारण संसारका अन्य कयौँ देशहरूले यसअघिनै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् । उदाहरणका लागि छिमेकी मुलुक भारत, युरोपेली देशहरू बेलायत, बेल्जियम, डेनमार्क, फ्रान्स, लात्भिया, नर्वे, न्यु जिल्यान्ड, क्यानडा, पाकिस्तान, ताइवान, अमेरिका लगायतका देशहरूले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् ।
अन्त्यमा टिकटक जस्ता सामाजिक सञ्जालले प्रयोगकर्ताहरूको मनोसामाजिक स्वास्थ्यमाथि पनि असर पु¥याइरहेको कयौँ अध्ययनहरूले देखाएका छन् । जसले गर्दा आत्महत्या, हत्या, हिंसा र अन्य आपराधिक घटनामा समेत वृद्धि भएको छ ।
तसर्थ सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा रहेको छ । समाज भित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै कारण वा तुक नै छैन ।
मलाई यतिसम्म जानकारी छ कि सरकारको यो निर्णयको बाहिर विरोध गर्ने नेताहरू स्वंयलेपनि भित्रभित्रै समर्थन पनि गरि रहेका छन् । म आफु नै टिकटक प्रयोगकर्ता भएपनि सरकार को यो जायज निर्णयको पुर्ण समर्थन गर्दै आईरहेको छु ।

लेखक यादव पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot