Logo

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या, १२ वर्षीय छोराले भागेर बचाए आफ्नो ज्यान



काठमाडौं, चैत ७ । मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मङ्गबार राति १ः४५ बजे बमबहादुरले ४५ वर्षीया श्रीमती गीता लिम्बूलाई धारिलो हतियार (दाउ) प्रयोग गरी हत्या गरेका हुन् ।

बेलबारी–१ कि शर्मिला राईको घरमा विगत चार वर्षदेखि भाडामा बस्दै आएका लिम्बूले श्रीमतीमाथि दाउ प्रहार गरेपछि स्थानीयले प्रहरीलाई सूचना गरेका थिए । नजिकै रहेको प्रहरी पुग्दा गीताको मृत्यु भइसकेको थियो ।

प्रहरीका अनुसार श्रीमतीको हत्यापछि सोही खुकुरीले आफ्नो घाँटीमा रेटेका बमबहादुर लिम्बु गम्भीर अवस्थामा घटनास्थलमा भेटिएका थिए ।प्रहरीले तत्काल उद्धार गरी बमबहादुरलाई उपाचारका लागि नोबेल अस्पताल मेडिकल कलेज विराटनगर पठाइएको थियो । घाँटीमा गहिरो चोट लागेका लिम्बू घटनास्थलमा नै बोल्न नसक्ने अवस्थामा थिए । लिम्बूको उपचारका क्रममा बुधबार बिहान ३ः२० बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।

स्थानीयका अनुसार श्रीमान श्रीमती बिच मनमुटाव भइरहने गरेको थियो । श्रीमतीलाई दाउ प्रहार गरेपछि बमबहादुरले १२ वर्षीय छोरा योन्जन लिम्बूलाई दाउ प्रहार गरेका थिए । तर उनी भागेर बाँचेका थिए । दुबै शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । बमबहादुरले जेठी श्रीमतीको मृत्यु पछि कान्छी श्रीमती ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्