Logo

जुद्धशमशेरको हुकुममा ‘आदिकवि’ भएका थिए भानुभक्त आचार्य



‘भानुभक्त पढेर हाम्रो शिक्षा आरम्भ हुन्छ, उनलाई हेला गरेर समाप्त हुन्छ ।’ ‘विश्वका पैंतीस प्रसिद्ध पुरुष’ नामक ग्रन्थमा प्राध्यापक राजनारायण प्रधानले लेखेका छन् ।

नेपाली भाषा-साहित्यमा ‘आदिकवि’ सम्मान पाएका भानुभक्त आचार्यको आज २०८औं जयन्ती हो । प्राथमिककालीन प्रतिनिधि कवि उनी वाल्मीकिकृत रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । उनका रामायण (बालकाण्ड १८९८), रामायण (अरू काण्ड १९१०), प्रश्नोत्तर (काव्य १९१०), भक्तमाला (काव्य १९१०), वधूशिक्षा (काव्य १९१९), रामगीता (काव्य १९२५) प्रकाशित छन् ।

प्रश्न उठ्छ- भानुभक्तलाई पहिलो पटक ‘आदिकवि’ को उपाधि कसले दिएको हो ?

काशीमा बसेका बेला मोतीराम भट्टले भानुभक्तको बालकाण्ड रामायण र पछि सम्पूर्ण रामायण मात्र प्रकाशित गराएनन्, विसं १९४८ मा ‘भानुभक्तको जीवन-चरित्र’ नामक जीवनी र समालोचनात्मक पुस्तक लेखेर ‘आदिकवि’को पगरीले विभूषित गरिदिए ।

तर, मोतीरामले लेखेको त्यो ‘आदिकवि’ खासै चलनचल्तीमा आएको थिएन । १९९७ सालमा बल्ल राणा प्रधानमन्त्री जुद्धशमशेरले हुकुम दिए, ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ ।’ त्यसपछि मात्र जनजिब्रोमा भानुभक्त आदिकवि भनिन थालेका हुन् ।

साहित्यको इतिहासमा मोतीरामको भानुप्रेम उत्पातै देखिन्छ । उनी काठमाडौं आएका बेला छिमेकी खड्गदत्त पाण्डेको बिहेमा जन्ती गएका रहेछन् । त्यहाँ मोतीरामले रातभरि श्लोकमा जुहारी खेलेको सुनेछन् । र, उनलाई नेपाली भाषामा पनि यति मीठा कविता लेखिँदा रहेछन् भन्ने थाहा भयो । पछि ती सबै जुहारी सिलोकहरू भानुभक्त आचार्यले लेखेका हुन् भन्ने चाल पाएपछि उनी भानुभक्तीय गुनगानमा मात्र लागेनन्, उनका कृतिहरू खोजीखोजी प्रकाशन गर्ने काममा जुटे ।

मोतीराम भट्ट ३० वर्षमै बितेपछि उनले पूरा गर्न नसकेका प्रायः काम सूर्यविक्रम ज्ञवालीले पूरा गरे । ‘भानुभक्तको जीवनचरित्र’ र ‘भानुभक्त स्मारक ग्रन्थ’को सम्पादन गरे । ‘भानुभक्तीय रामायण’को पनि भूमिकास्वरूप समालोचना पनि गरेका छन् ।

साँच्चै भन्ने हो भने १९४० अघि केटौले उमेरका सुधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान) लगायतले दार्जिलिङमा बसेर भानुभक्तलाई ‘राष्ट्रिय हिरो’ बनाउने जग बसालेका हुन् । साथै बाबुराम आचार्यले पनि  ‘पुराना कवि र कविता‘ (२००३) र ‘तुलनात्मक सुन्दर काण्ड’ (२००२) मार्फत भानुभक्तको प्रचार गरे ।

भानुभक्तको व्यक्तित्व उजिल्याउनमा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, बालचन्द्र शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवे आदिको पनि उत्तिकै योगदान छ । त्यति मात्र होइन, यादव खरेलले भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सात काण्डकै गीति सीडी प्रकाशमा ल्यायो ।

भानुभक्तको समयमा नेपालीभाषाको त्यति मान्यता थिएन । संस्कृतका ज्ञाता हुँदाहुँदै पनि भानुभक्तले चाहिं प्रायः नेपालीभाषामै कविता लेखे । भानुभक्त उनी कवितामै बोल्थे । आफूलाई लागेका र चित्त नबुझेका कुराको पनि कविता बनाउँथे । उनी कवितामा कति छिटो बोल्न सक्थे भने कुनै अपरिचितले परिचय माग्दा भनेछन्-

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया,
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिन्ही लिया ।

समयका हिसाबले भानुभक्त जङ्गबहादुर राणाका समकालीन हुन् । त्यसबेला नेपालमा भर्खर राणा शासन उदाएको थियो । उनी तनहुँसुर डाँडादेखि पूर्व र दक्षिणमा गाउँ र बेसीको पायक परेको अति सुन्दर रमणीय गाउँ चुँदी रम्घामा विसं १८७१ असार २९ गते जन्मेका थिए ।

चुँदी रम्घा उर्वराभूमि भएकाले खान र लगाउनका लागि खासै समस्या थिएन । त्यसैले त्यहाँका बासिन्दाहरू विद्याको साधनामा लाग्न सफल भएका थिए । पृथ्वीनारायण शाहको समयमा गोरखामा नपाइएको ‘मितक्षराको व्यवहराध्याय’ नामक ग्रन्थ तनहुँमा पाइएको थियो ।

जुम्लाको अचार्जबाडा पैतृकस्थल भएका आचार्य ब्राह्मणहरू खेतीपातीका लागि सुगम र विद्याको साधनाका लागि उचित थलोको खोजी गर्दै तनहुँको चुँदी, रम्घा पुगेका थिए । बाजे श्रीकृष्ण आचार्यले उनलाई काशी लगेका थिए । त्यसैले उनले संस्कृत शिक्षा लिन पाए ।

प्राज्ञ जगमान गुरुङका अनुसार भानुभक्त आचार्यले सबैले राम्ररी बुझ्न सक्ने नेपाली भाषाको माध्यमबाट लोकको हित गर्नका लागि आध्यात्मिक रामायण र रामगीतालाई नेपालीमा अनुवाद गरे । भानुभक्त आचार्यको समयभन्दा अघि पनि नेपाली भाषामा केही फुटकर कविता नलेखिएका होइनन् । तर भानुभक्तीय रामायणलाई नेपाली भाषामा रचना गरिएको पहिलो र सग्लो ग्रन्थ मानिएको छ ।

हामीले चाहे पनि, नचाहे पनि भानुभक्त नेपाली राष्ट्रिय संस्कृतिको पहिचान भएका छन् । सन् १९९९ मा ‘द करिअर अफ भानुभक्त एज अ हिस्ट्री अफ नेपाली नेसनल कल्चर, १९४०-१९९९’ शीर्षकमा लामो लेख लेखेका प्रत्यूष वन्त ‘भानुभक्त स्मारक ग्रन्थ’ नेपालमा उपलब्ध भएपछि मात्र भानुभक्तबारे नेपालीले बढी जानकारी पाउन थालेको दाबी गर्छन् ।

१९२५ साल असोज ६ गते भानुभक्तको मृत्यु भएपछि मोतीराम भट्टले सबैभन्दा पहिले उनलाई चिनाउने काम गरे । तर बनारसमै हुर्किएका सूर्यविक्रम ज्ञवालीले आफ्नो संस्मरणमा भनेका छन्, ‘म बनारसमै जन्मे-हुर्केको भए पनि मलाई बाल्यकालमा मोतीरामले भानुभक्तमाथि लेखेको जीवनीबारे जानकारी थिएन ।’

वन्त भानुभक्तलाई सूधपाको ‘रि-डिस्कोभरी’ मान्छन् । उनका अनुसार एउटा १९४० भन्दाअघि भारतमा विभिन्न हिसाबले निर्वासन वा आफ्नो खुसीले बसेकाहरूका लागि जातीय पहिचान बनाउने क्रममा एउटा हिरो चाहियो र भानुभक्त छानिए ।

‘मोतीरामले भानुभक्तमाथि नलेखिदिएका भए अथवा डिस्कभरी-१ नभएको भए डिस्कभरी-२ नहुन सक्थ्यो,’ उनी भन्छन्, ‘मोतीरामले लेखिदिएको टेक्स्ट्लाई रि-डिस्कभर गरेर नेपालमा भन्दा पहिले बनारसमा फैलाइयो ।’

त्यसो त भानुभक्तको मूर्ति पनि पहिलोपटक नेपालबाहिरै बन्यो । दार्जिलिङमा सन् १९४९ मै उनको मूर्ति खडा गरिएको थियो । त्यो मूर्ति देखेपछि बालकृष्ण सम र उनकी छोरी ज्वाला मिलेर बनाएको स्केचलाई कमल दीक्षितहरूले कलकत्ता लगेर पाँच हजार कपी पोस्टरको प्रिन्ट गरे । प्रत्येक प्रिन्ट एक रुपैयाँ गोटामा नेपालमा बेचियो । भानुभक्त टेक्स्ट र अन्य पोस्टर, मूर्तिका रूपमा पनि देशभरि फैलिए ।



प्रतिक्रिया दिनुहोस्