Logo

कोरोना माहामारी ठिक होस् भन्नका लागि व्रत बसेको छु, मेरो लक्ष्य/उद्देश्य विवाह होईन : कोमल वली (विशेष-अन्तर्वार्ता)



चर्चित गायिका तथा सांसद कोमल वलीले आफूले यो वर्ष तीज गीत नल्याएको बताउँदै आफ्ना पूरानै गीतहरुमा नाँच्न आमा, दिदिबहिनीहरुलाई अनुरोध गरेकी छिन् । उनले आफूले यस पटकको तीज घरमै बसेर मनाईरहेको पनि जानकारी गराएकी छिन् । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायिका तथा सांसद वलीले भनेकी छिन्,’हामी अहिले यस्तो प्यान्डेमिकमा छौँ कि हाम्रो नियन्त्रणभन्दा बाहिर छ । हाम्रो नियन्त्रणमा भएको भए हामीले अरू सुरक्षाका उपायहरू अपनाएर मनाउँथ्यौँ तर हामीसँग यसको विकल्प छैन । विकल्प नभएको हुनाले हामीले स्वास्थ्य विज्ञ, डाक्टरहरू, सरकारको निर्देशनको पालना गर्नुपर्ने छ, त्योभन्दा हामीसँग अर्को उपाय नै छैन । जति खल्लो भए पनि मनलाई बलियो बनाएर धैर्यतापूर्वक तीज मनाउनुपर्ने आवश्यकता छ ।’ प्रस्तुत छ वलीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

यसपटक कसरी मनाउँदै हुनुहुन्छ तीज पर्व ?

यसपटकको तीज घरमै बसेर मनाउँदै छु । किनभने कोरोनाको संकटले गर्दाखेरि बाहिर जाने, दिदीबहिनीसँग भेटघाट गर्ने, नाच्ने गाउने अवस्था छैन । अब अर्को सालको लागि भनेर साँचेर यो वर्ष घरमा नै बस्ने, व्रत बस्ने, पूजाआजा गर्ने, घरको परिवारसँग पनि भौतिक दूरी कायम गर्ने किनभने कोरोना संक्रमण कसलाई भएको हुन्छ, कसलाई हुँदैन भन्ने कुरा थाहा हुँदैन । कोरोना स्प्रिड नहोस् भनेर हामीले ख्याल गरेर, सुरक्षित भएर बस्ने कोशिस गर्दैछु । यो पर्व क्यालेन्डरमा छ । त्यसकारणले तीज घर घरमा बसेर मनाउँदा केही भएन तर सामूहिक रूपमा दर खानको लागि कार्यक्रम नगरेर हामीले यसपालि एकदमै ख्याल गरेर मनाउनुपर्ने अवस्था छ । भीडभाडमा नबसेर तीज मनाउनुपर्ने अवस्था छ ।

भीडभाडमा जानुहुँदैन । भीडभाडमा जानेहरूलाई पनि नजानु भनेर आग्रह गर्नुपर्छ । तपाईले तीजमा धेरै गीतहरू गाउनुभएको थियो । यसपालि पनि गाउनुभयो ?

यसपटक कोरोनाले गर्दाखेरि गीत पनि गाउन पाइनँ । मेरो पहिलाका गीतहरूमा दिदीबहिनीहरूलाई नाच्नको लागि अनुरोध गर्दछु ।

पहिलोपटक घरमा बसेर नारीहरूले तीज मनाइरहनु भएको छ ?

विगत वर्षहरुमा १५/२० दिन अगाडिदेखि साथीहरू मिलेर दर खाने, नाच्ने, गाउने त्यस्तो थियो तर यो वर्ष हुन सकेन । हिजो पनि दर खाने साँझ हो तर हिजोको दिनमा पनि धेरै सुरक्षित तरिकाले दिदीबहिनीहरूले यसपटक दर खाएको र साथीहरूलाई शुभकामना सामाजिक सञ्जालमार्फत पठाएको त्यस्तो मैले विभिन्न सामाजिक सञ्जालहरूमा देखेँ । कतिजना त नजिकको मन्दिरमा गएर पूजा पनि गर्नुहुन्छ होला । कतिले घरमा पूजा पनि गर्नुहुन्छ होला । तर पनि मन्दिरमा जाँदा पनि विशेष ख्याल गर्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।

रौनकबिनाको तीज भयो यसपटक ? खल्लो तीज भयो नि होईन ?

हामी अहिले यस्तो प्यान्डेमिकमा छौँ कि हाम्रो नियन्त्रणभन्दा बाहिर छ । हाम्रो नियन्त्रणमा भएको भए हामीले अरू सुरक्षाका उपायहरू अपनाएर मनाउँथ्यौँ तर हामीसँग यसको विकल्प छैन । विकल्प नभएको हुनाले हामीले स्वास्थ्य विज्ञ, डाक्टरहरू, सरकारको निर्देशनको पालना गर्नुपर्ने छ, त्योभन्दा हामीसँग अर्को उपाय नै छैन । जति खल्लो भए पनि मनलाई बलियो बनाएर धैर्यतापूर्वक तीज मनाउनुपर्ने आवश्यकता छ ।

घरमा बसेर तीज मनाउने नारीहरूलाई तपाई के भन्न चाहनुहुन्छ ?

दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु कि हामी नारी महिला स्वतन्त्रताको लागि यो पर्व हो । त्यसैले महिलाहरूले जहिले पनि अधिकारको लागि दिदीबहिनीहरूले आज पनि संघर्ष गर्नुपर्ने अवस्था छ । आफु सुरक्षित हुन आजको दिनमा पनि लड्नुपर्ने अवस्था छ । हाम्रो समाजमा विभिन्न विभेदहरू आज पनि जारी छन् । यी विभेदहरूलाई हामीले जित्नुछ । त्यसको लागि दिदीबहिनीहरू धैर्यतापूर्वक बलियो भएर, मनोबल बढाएर हामीले घरमा बस्दाखेरि पनि समयलाई सदुपयोग गरेर तीज मनाउनुपर्छ । तीजको बेलामा काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको छ । टेलिभिजनहरू हेर्नुस्, गफ गर्नुस्, पढ्नुस्, योगा गर्नुस्, नाच्नुस्, गाउनुस्, तपाईहरूको समय एकदमै सदुपयोग गर्नुस् । तीजलाई यसपालि भिन्दै तरिकाले मनाएर हेरौँ पनि । किनभने यसले हामीलाई निकै कुरा सिकाएको पनि छ । आउँदा दिनहरूमा यो हाम्रो लागि राम्रो अवसर पनि हुनसक्छ ।

त्यसो भए तपाई व्रत बस्नुहुन्छ ?

व्रत बसेको छु ।

कसको लागि ?

आफ्नो लागि, आफ्नो परिवारको लागि, मेरो देशको लागि, सम्पूर्ण ब्रह्माण्डको लागि, मानवजातिको लागि, कोरोना प्यान्डेमिक ठिक होस् भन्नका लागि व्रत बसेको छु ।

भविष्यको श्रीमान्को लागि होइन ?

श्रीमान् आउनुभएछ भने श्रीमान्को लागि ।

किनभने तपाई त अविवाहित नारी हो ?

अवश्य पनि ।

तपाईको चाहना होलान् ?

मेरो लागि कतै श्रीमान् हुनुहुन्छ भने उहाँको लागि ।

यसपालिको तीजमा एउटा प्रण गरौँ न त कोमल वलीजी, अर्को तीजमा कुरा गर्दाखेरि तपाईको विवाह होस् ? तपाईले विवाह गर्नुपर्छ भनेर माग पनि छ ।

लक्ष्य, दृष्टिकोण हुन्छ । मैले विहेलाई प्राथमिकता दिईरहेको छैन । मेरो सम्पूर्णतामा देशको सेवाको लागि, राजनीतिक सेवाको लागि समर्पित गर्ने मैले एउटा दृढसंकल्प लिएको छु तर विहेको विरोधी म अवश्य नै होइन । मेरो लक्ष्य, उद्देश्य विहे होइन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot