Logo

माधव नेपाललाई एक्ल्याउने ओलीको रणनीति, भीम रावल र सुरेन्द्र पाण्डेलाई फकाउँदै



काठमाडौं, २८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको आदेशले सत्ता छाड्न वाध्य भएपछि नयाँ परिस्थिति विकास भएको छ । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई एक्ल्याउने रणनीति बनाएका छन् ।

नेपाल खेमाका नेताहरु भीम रावल र सुरेन्द्र पाण्डेलाई आफ्नो पक्षमा रहिरहने गरी ओलीले कुराकानी थालेका छन् । उनले रावलसँग आज पनि बालुवाटारमा छलफल गरेका छन् । पाण्डेसँग पनि पटक पटक छलफल गर्दै आएका छन् ।

रावल र पाण्डे एमाले एकताको पक्षमा उभिएर हिजो कार्यदलका तर्फबाट १० बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । अब नेपाल खेमाका दुई हस्ती नेताहरुलाई साथमा लिएर ओली अगाडि बढ्न खोजेको देखिदैछ ।

रावल नेपालबाट टाढिइसकेका छन् । उनी कोटेश्वर जान छाडेका छन् । बालुवाटारमा बढी आवतजावत बढेको थियो । पाण्डेले पनि कार्यदलको सहमति अनुसार बढ्नुपर्नेमा जोड दिएका छन् । तर, यसलाई माधव नेपालले अस्वीकार गरिसकेका छन् ।

रावल र पाण्डेसँग माधव नेपालको मत बाभिइसकेको छ । अब रावल र पाण्डे एमालेमै रहने सम्भावना बलियो छ । माधव नेपाल कारबाहीमा पर्ने या उनले पार्टी विभाजनको मार्ग खोज्ने देखिदैछ ।

ओलीले पनि माधव नेपाल पक्षका जतिसक्दो धेरै नेता कार्यकर्ता आफ्नो पक्षमा पारेर शक्ति जोगाइराख्ने रणनीति बनाएका छन् । प्रतिनिधि सभाका २३ नेपाल पक्षीय सांसदमध्ये धेरैभन्दा धेरैलाई पक्षमा पारेर नेपाललाई कमजोर पार्न खोजेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot