Logo

काँग्रेसमा ‘देउवा परिवार’ प्रभावशाली



काठमाडौं, ८ पौष । नेपाली काँग्रेसमा पदाधिकारीमा पहिलोपटक कोइराला परिवारका कुनै सदस्य रहेनन् । काँग्रेसका संस्थापक नेताहरु गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए । यो घटनालाई लिएर काँग्रेसमा अब विरासतको राजनीति सकिएको विश्लेषणहरु भए । तर, काँग्रेसको राजनीतिमा परिवार नै हावी भएका छन् ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुँदै गर्दा उनकी पत्नी डा. आरजु राणा देउवा पनि केन्द्रीय सदस्यमा निर्वाचित भइन् । यसलाई कतिपयले देउवा परिवार काँग्रेसमा बलियो भएको घटनाका रुपमा लिएका छन् । आरजुले आफूनिकटस्थहरु धेरैलाई केन्द्रीय सदस्यमा जिताउन भूमिका खेलिन् । यसलाई उनको सफलताका रुपमा लिइएको छ । आरजुनिकट एकजना महिला केन्द्रीय सदस्यले अब काँग्रेसमा महिला नेतृत्व आउने अभिव्यक्ति दिइन् । उनको संकेत आरजुतर्फ थियो ।

देउवा परिवारबाट आरजु काँग्रेस राजनीतिमा सक्रिय हुने क्रममा २०७४ को आमनिर्वाचनमा प्रतिष्पर्धा गरेकी थिइन् । तर, पराजित भइन् । यसपटक भने उनी केन्द्रीय सदस्य बनिन् । सभापति देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा आउने चर्चा छ । काँग्रेसमा देउवा परिवारको विरासत थाम्ने गरी आरजु अगाडि बढेकी छिन् । उनीपछि जयवीरसिंह राजनीतिमा आउने आँकलन गरिएको छ ।

काँग्रेसभित्र नाम धेरै चलेका र कम चलेका परिवारहरु राजनीतिमा हावी छन् । नाम धेरै चलेकामा कोइराला परिवार, सिंह परिवार र निधि परिवार छन् । अब देउवा परिवार पनि चर्चामा छ । यसबाहेक रामशरण महतको परिवार, अर्जुननरसिंह केसीको परिवार पनि काँग्रेस राजनीतिमा हावी छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot