Logo

टीके प्रथा अन्त गर्दै माओवादीमा पनि चुनाव



काठमाडौं, ८ पौष । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा स्पष्ट रुपान्तरण देखिएको छ । विगतमा अध्यक्ष सर्वसम्मतले बन्ने र उनैले पदाधिकारी र केन्द्रीय कमिटीमा सदस्यहरु छान्ने गरेकोमा यसपटक चुनावको संकेत देखिएको छ ।

माओवादीको वडा हुँदै पालिका, जिल्ला र प्रदेशसम्म पुग्दा सहमति बन्न नसक्दा चुनाव भइरहेका छन् । प्रदेशमा दाबेदारहरु बढेपछि चुनाव भएको छ । प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ मुक्सामहाङलाई पराजित गर्दै विजयी भए । उपाध्यक्षहरुमा पनि धेरै प्रतिष्पर्धी भएपछि चुनाव भएको छ । अन्य पदाधिकारीमा पनि आकांक्षी धेरै भएपछि चुनाव भयो ।

बागमती प्रदेशमा पनि सहमति बन्न सकेन । नेताहरुले ब्याक गराउने प्रयास विफल भयो । चुनावमा प्रदेश समिति अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भए । उनले प्रतिष्पर्धी दिनानाथ गौतमलाई झण्डै दोब्बर मतले पराजित गरे । उपाध्यक्षलगायत पदाधिकारीमा पनि चुनाव भयो ।

गण्डकी प्रदेशमा भने चुनाव भएन । त्यहाँ सहमतिका आधारमा गायत्री गुरुङ चयन भइन् ।

कर्णाली प्रदेश समितिको अध्यक्षमा विमला केसी चयन भइन् । उनी सहमतिका आधारमा चयन भएकी हुन् ।

माओवादीमा अध्यक्षका लागि पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने कोहीपनि तयार देखिएका छैनन् । तर, उपाध्यक्ष, महासचिवलगायत पदाधिकारीमा आकांक्षी धेरै छन् । कुनैपनि नेता ब्याक हुन नमाने चुनाव हुने सम्भावना छ । चुनाव भएमा माओवादीमा पहिलोपटक पदाधिकारी निर्वाचनबाट चयन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot